काठमाडौँ । लगानी बोर्डको कार्यालयले आफ्ना कर्मचारीहरूले ठेकेदारबाट रकम, आईफोन र मिठाईसहितका उपहार लिएको भन्दै गरिएको प्रचारको खण्डन गरेको छ ।
कार्यालयले उक्त आरोपलाई भ्रामक तथा तथ्यहीन भन्दै कर्मचारीहरूको मानमर्दन गर्ने उद्देश्यले भिडियो सामग्री सार्वजनिक गरिएको दाबी गरेको छ । बोर्डले शुक्रबार जारी गरेको प्रेस नोटअनुसार असोज २९ गते बिहीबार दिउँसो ४:३० बजे प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित कर्मचारीहरू महत्त्वपूर्ण बैठकमा रहेका बेला ‘एटिभी खबर’ युट्युब च्यानलका दिवाकर शाह अचानक कार्यालय प्रवेश गरेका थिए ।
कार्यालयको दाबीअनुसार शाहले कुनै अनुमति वा जानकारीबिना सीईओसहित कर्मचारीहरूको भिडियो खिचेका थिए । त्यसपछि ठेकेदारबाट रकम, आईफोन र मिठाईसहित उपहार लिएको आरोप लगाउँदै कर्मचारीहरूलाई लाञ्छित गर्ने गरी भिडियो सामग्री सम्प्रेषण गरिएको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार बैठक चलिरहेका बेला अनुमतिबिना भिडियो खिचिएपछि क्यामेरा बन्द गर्न आग्रह गरिएको थियो । त्यसक्रममा कर्मचारीहरूसँग छलफलसमेत भएको थियो । शाहले कार्यालयमा उपहार ल्याइएको विषयमा आफूलाई जानकारी नभएको भन्दै बाहिरिएको प्रेस नोटमा उल्लेख छ ।
तर, पछि सार्वजनिक गरिएको भिडियोमा कार्यालयको अनुमतिबिना कसैले ल्याएर राखेको मिठाई र बिस्कुटसहितको टोकरी देखाउँदै कर्मचारीहरूले ठेकेदारबाट उपहार लिएको भन्ने गलत प्रचार गरिएको बोर्डको दाबी छ । साथै, वर्तमान सरकारले कायम गर्न खोजेको सुशासनको धज्जी उडाएको गम्भीर आरोप लगाउँदै भिडियो सम्प्रेषण गरी अफवाह फैलाइएको कार्यालयले जनाएको छ ।
बोर्डले घटनाबारे थप स्पष्ट पार्दै एक परियोजनाका प्रतिनिधिले कार्यालयको अनुमति र जानकारीबिना मिठाई र स्कुटसहितको टोकरी कार्यालयमा खरिदतर्फका प्रतिनिधिको जिम्मा लगाएको जनाएको छ ।
कार्यालयका अनुसार ती परियोजनाका प्रतिनिधिसँग कुरा गरी उनीहरूले नै कार्यालयका कर्मचारीका लागि ठेकेदारको उपहार ल्याएको भन्ने गलत भाष्य निर्माण गर्ने प्रयास गरिएको थियो । बोर्डले आफ्ना कर्मचारीका लागि यस किसिमका उपहार कुनै पनि अवस्थामा स्वीकार्य नहुने स्पष्ट पारेको छ ।
कार्यालयले उक्त घटनालाई कर्मचारीहरूको मानमर्दन गर्ने, मनोबल गिराउने र अनावश्यक विवादमा पारेर बोर्डको समग्र कामकारबाहीमा अवरोध सिर्जना गर्ने नियोजित गतिविधिका रूपमा लिएको जनाएको छ । यस्ता गतिविधि रोक्न सम्बन्धित पक्षलाई आग्रह गर्दै अन्यथा आवश्यक कानुनी उपचार लिन बाध्य हुने चेतावनी दिएको छ।
लगानी बोर्डको कार्यालयका सहसचिव एवं प्रवक्ता भूपेन्द्र थापाद्वारा जारी प्रेस नोटमा सुशासन कायम गर्ने सरकारको नीतिप्रति कार्यालयका सम्पूर्ण कर्मचारी पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख छ ।





