चितवन । चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति तयार गरेको छ । रणनीति अनुसार निकुञ्ज प्रशासन र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना गरी १ हजार २ सय बढी जनशक्ति परिचालन गरिने छ ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार चाडपर्वमा अपरिचित व्यक्तिहरूको चहलपहल बढी हुने हुँदा चोरी शिकारी हुन सक्ने भएकाले सुरक्षा रणनीतिका साथ उच्च सतर्कता अपनाइएको हो । उनले भने “अहिले संम्बेदनशिल क्षेत्रहरूमा ३५ ‘स्पाई क्यामेरा’ जडान गरेर सुरक्षा दिइएको छ ।” चोरी शिकारीका हिसाबले जोखिम रहेका क्षेत्रहरूमा स्पाई क्यामेरा सहित क्याम्पिङ् एण्ड एम्बुसिङ् लगायतका कामहरू गरिने उनले जानकारी दिए ।
सूचना अधिकारी मगरका अनुसार विगतमा हुने गरेका नियमित गस्ती सहित स्विपिङ्, पट्रोलीङ्, साइकल गस्ती, मोटरसाईकल गस्ती, बोट, गाडी र हात्तीबाट गस्ती गरिने छ । चार्ड पर्वको समयमा निकुञ्ज आसपासमा बसोबास गर्ने स्थानीय पर्व मनाउन लाग्ने भएकाले चोरी शिकारीका बढी संवेदनशील मानिने गरिन्छ । संवेदनशील क्षेत्रहरूमा ‘लिंक पट्रोलीङ्’ लगायतका कामहरू भइरहेको छ । चुरे क्षेत्रमा समेत चोरी शिकारी हुन सक्ने भएकाले सो क्षेत्रलाई समेत मध्यनजर गर्दै सुरक्षा व्यवस्था मिलाइएको छ ।
निकुञ्ज क्षेत्रभित्र ५७ स्थायी पोष्ट र ३ अस्थायी पोस्टहरूबाट सुरक्षा दिने काम भइरहेको छ । यसलाई अझै चुस्त बनाउँदै स्थानीय सँगको साझेदारीमा निकुञ्ज सुरक्षा गरिने छ । शंकास्पद स्थानहरूमा तालिम प्राप्त कुकुर (स्निफर डग) मार्फत निगरानी गरिने छ । आवश्यकता अनुसार अन्य सुरक्षा निकाय सँग समेत समन्वय गरेर निकुञ्ज क्षेत्रमा रहेका बस्तीहरूमा समेत तदारुकता बढाइएको उनले जानकारी दिए ।



