काठमाडौँ । बढ्दो महँगी र जीवनयापनको लागतविरुद्ध सुरु भएको आन्दोलनले हिंसात्मक रूप लिएपछि फ्रान्स सरकारमाथि सुरक्षा व्यवस्था कायम गर्न दबाब बढेको छ ।
देशव्यापी प्रदर्शनका क्रममा व्यापक तोडफोड, आगजनी र लुटपाट भएपछि सरकारले स्थानीय कफ्र्यु लगाउने तयारी गरेको छ । प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले क्षेत्रीय अधिकारीहरूलाई आवश्यकताअनुसार कफ्र्यु लागू गर्न आग्रह गर्दै परिस्थिति नियन्त्रणबाहिर गए सङ्कटकाल घोषणा गर्न सकिने चेतावनी दिएका छन् ।
प्रदर्शनकारीहरूले सोमबार राजधानी पेरिसस्थित प्रसिद्ध लुभ्र सङ्ग्रहालयको प्रवेशद्वारसमेत अवरुद्ध गरेका छन् । सप्ताहान्तमा भएको हिंसामा दुई हजारभन्दा बढी पसल प्रभावित भएका छन् भने सार्वजनिक भवन र सवारीसाधनमा आगजनी गरिएको छ ।
न्यायमन्त्री जेराल्ड डारमानिनका अनुसार हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा दुई हजार ३३० भन्दा बढी व्यक्ति पक्राउ परेका छन् । झडपमा सयौँ सुरक्षाकर्मी घाइते भएका छन् । गत शनिबार मात्रै करिब पाँच लाख मानिस सडकमा उत्रिएका थिए । डिजेल, पेट्रोल र खाद्यान्नको मूल्यवृद्धिले नागरिकमा असन्तुष्टि बढाएको छ ।
यसैबीच, ‘येलो भेस्ट’ आन्दोलनले आगामी शनिबार थप प्रदर्शन गर्ने घोषणा गरेपछि सुरक्षा चुनौती बढेको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले गृहमन्त्रीको राजीनामा अस्वीकार गर्दै सुरक्षा संयन्त्रमा कमजोरी रहेको स्वीकार गरेका छन् ।
आगामी राष्ट्रपतीय निर्वाचन नजिकिँदै गर्दा चर्किएको आन्दोलनले फ्रान्समा राजनीतिक अस्थिरता थप बढाउने चिन्ता उत्पन्न भएको छ ।



