बाँके । बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया उद्योगमा आगलागी हुँदा करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। उद्योगभित्र रहेको फर्नेस आयल ट्यांकीमा विद्युत् सर्ट सर्किटका कारण आगलागी भएको प्रारम्भिक विवरण छ।
बिहीबार राति करिब १:३० बजे ट्यांकीमा आगलागी भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय खजुरा खुर्द, बाँकेबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
आगलागी भएको ट्यांकीको क्षमता २ लाख लिटर रहेको बताइएको छ। प्रारम्भिक विवरणअनुसार आगलागीबाट करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
प्रहरी, स्थानीयवासी तथा दमकलको सहयोगमा करिब २:३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।
घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। आगलागीको घटनाबारे थप अनुसन्धान भइरहेको छ।



