काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले पाकिस्तानका अनुभवी अलराउन्डर हुसेन तलतलाई टोलीमा अनुबन्ध गरेको छ ।
कर्णाली याक्सले बिहीबार सामाजिक सञ्जालमार्फत ३० वर्षीय तलतलाई विदेशी खेलाडीका रूपमा भित्र्याएको जानकारी दिएको हो । पाकिस्तानको राष्ट्रिय टोलीबाट एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका तलतसँग विभिन्न व्यावसायिक लिगमा प्रतिस्पर्धा गरेको अनुभव छ ।
उनले पाकिस्तानका लागि १२ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा २२४ रन बनाएका छन् भने २३ टी-२० अन्तर्राष्ट्रिय खेलमा ४४१ रन जोडेका छन् । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले सात विकेटसमेत लिएका छन् ।
त्यस्तै, तलतले हालसम्म २०४ टी-२० खेलमा तीन हजार ९५० रन बनाएका छन् । उनले पाकिस्तान सुपर लिग (पीएसएल) र बङ्गलादेश प्रिमियर लिग (बीपीएल) लगायतका प्रतियोगितामा आफ्नो क्षमता प्रदर्शन गरिसकेका छन् । उनको आगमनसँगै कर्णाली याक्सको ब्याटिङ र बलिङ दुवै पक्ष थप मजबुत हुने अपेक्षा गरिएको छ ।
एनपिएलको तेस्रो संस्करण यही कात्तिक ९ गतेदेखि काठमाडौँमा सुरु हुँदै छ ।



