काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट अवैध लागूऔषध सहित नौ जनालाई पक्राउ गरेको छ ।
कैलाली, नवलपरासी पश्चिम, मोरङ, कञ्चनपुर, सुनसरी, पर्सा र चितवनबाट उनीहरूलाई पक्राउ गरिएको हो । कैलालीको भजनी नगरपालिका-३ बाट २८ वर्षीय हरिप्रसाद डगौरा ७७० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-७ बाट ७० मिलिग्राम ब्राउन सुगरजस्तो पदार्थसहित एक १८ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी पश्चिमको सुनवल नगरपालिका-१० बाट २३ वर्षीय सन्दिप चौधरी २८८ ट्याब्लेट स्पास्मो, १७० ट्याब्लेट नाइट्रोजन, २४० ग्राम गाँजा र २४ हजार १५० रुपैयाँसहित पक्राउ परेका छन् । त्यस्तै, मोरङको सुन्दरहरैँचा नगरपालिका-१० बाट २७ वर्षीय समिर राई ३८० ट्याब्लेट ट्रामाडोल र ३७० ट्याब्लेट स्पास्पेनसहित पक्राउ परेका छन् ।
कञ्चनपुरको पुनर्वास नगरपालिका-११ बाट १९ वर्षीय कुशल विष्ट ४५० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित पक्राउ परेका छन् । प्रहरीले थप तीन जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । सुनसरीको धरानबाट २६ वर्षीय उत्तम राईसहित दुई जना ३६० ट्याब्लेट ट्रामाडोल र ३६२ ट्याब्लेट स्पास्पेनसहित पक्राउ परेका छन् ।
पर्साको वीरगन्जबाट २१ वर्षीय गणेश साह कलवार दुई ग्राम ३८० मिलिग्राम ब्राउनसुगरजस्तो पदार्थसहित पक्राउ परेका छन् । चितवनको रत्ननगरबाट २२ वर्षीय अभिजित नेपाल १५० ट्याब्लेट ट्रामाडोलसहित पक्राउ परेका छन् ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



