जुम्ला । जुम्लाका किसानलाई यो याममा बर्खे बाली भित्र्याउन चटारो परेको छ ।
दसैँको रौनक सकिनै लाग्दा हिमाली जिल्ला जुम्लाका किसानहरूलाई भने पाकेको कोदो, धान, फापर, सिमी र मकै लगायतका बाली भित्र्याउन भ्याइनभ्याइ भएको तिला गाउँपालिका-८ का वडाध्यक्ष आसे बस्नेतले बताएका छन् ।
मौसम सफा भएकाले पाकेको बाली थन्क्याउन अहिले यहाँका किसान खेतबारीका काममा व्यस्त रहेका छन् । दसैँभन्दा पनि किसानहरूलाई बाली भित्र्याउने कार्य प्राथमिकतामा परेको वडाध्यक्ष बस्नेतको भनाइ छ ।
बडादसैँ ठूलो चाड भए पनि बाली पनि यति नै बेला पाकेको कारण चाड मनाउने र बाली थन्क्याउने काम सँगसँगै गर्नुपरेको तातोपानी गाउँपालिका-४ का किसान अप्सरा पाण्डेको भनाइ छ । यति बेला जिल्लाका अधिकांश किसान पाकिसकेको बाली घरमा भित्र्याउन बिहानदेखि बेलुकासम्म काममा खटिरहेको देखिन्छ ।
यति बेला फापर, कोदो, सिमी, भटमास, आलुलगायतका बाली थन्क्याउने कामको चटारोमा किसान रहेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताए ।



