एजेन्सी । अस्ट्रेलियामा विद्युतीय स्कुटर (ई-स्कुटर) दुर्घटनामा परी घाइते हुने र अस्पताल भर्ना हुनेको संख्या सन् २०१९ यता तीन गुणाभन्दा बढीले वृद्धि भएको सरकारी प्रतिवेदनले देखाएको छ ।
अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयर (एआईएचडब्ल्यू) ले बिहीवार सार्वजनिक गरेको प्रतिवेदनअनुसार, सन् २०२४-२५ मा विद्युतीय स्कुटरबाट लडेर घाइते भएका ४ हजार ८९ जना अस्पताल भर्ना भएका थिए । यो संख्या सन् २०१९-२० मा अस्पताल भर्ना भएका १ हजार २९१ जनाको तुलनामा २१६.७ प्रतिशतले बढी हो ।
प्रतिवेदनअनुसार, विद्युतीय स्कुटरबाट लडेर अस्पताल भर्ना हुनेको जनसंख्यामा आधारित दर सन् २०१९-२० मा प्रति एक लाख जनामा ५.१ रहेकामा सन् २०२४-२५ मा बढेर १४.९ पुगेको छ । यसको विपरीत, सामान्य अर्थात् विद्युतीय शक्ति प्रयोग नगर्ने स्कुटरबाट लडेर अस्पताल भर्ना हुनेको दर सोही अवधिमा प्रतिएक लाख जनामा ६.८ बाट घटेर ४.९ मा झरेको छ ।
एआईएचडब्ल्यूकी प्रवक्ता ज्याकलिन रेकले सञ्चार विज्ञप्तिमा तथ्यांकले अस्पताल भर्ना हुनेको संख्या बढ्नुमा विद्युतीय स्कुटरको प्रयोग विस्तारको योगदान कति छ भन्ने यकिन गर्न नसकिने बताइन् । यद्यपि, पछिल्ला वर्षमा अस्ट्रेलियामा विद्युतीय स्कुटरको लोकप्रियता बढ्दै गएको प्रवृत्तिसँग यो तथ्यांक मेल खाने उनको भनाइ थियो ।
प्रतिवेदनमा आगामी दिनमा दुर्घटनासम्बन्धी तथ्यांकलाई थप स्पष्ट रूपमा वर्गीकरण गर्न नयाँ व्यवस्था लागू गरिएको पनि उल्लेख छ । गत जुलाईदेखि लागू गरिएका नयाँ अस्पताल कोडका माध्यमबाट भविष्यमा विद्युतीय स्कुटर, विद्युतीय साइकल तथा अन्य आवागमनका साधनसँग सम्बन्धित दुर्घटनालाई छुट्टाछुट्टै पहिचान गर्न सकिनेछ । यसले विद्युतीय सवारीसाधनसँग सम्बन्धित दुर्घटना र स्वास्थ्य जोखिमको विश्लेषण गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।



