काठमाडौँ । दसैँ मनाउन घर तथा आफन्तका गएकाहरू काठमाडौँ फर्कने क्रम बढेको छ । दसैँको टीका, जमरा र पारिवारिक सकेर गाउँघर गएका सर्वसाधारण बिदा सकिएसँगै राजधानी फर्किन थालेपछि काठमाडौँका सडक, सार्वजनिक यातायात र बसपार्कमा यात्रुको चाप बढेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । रोजगारी, अध्ययन र व्यवसायका लागि काठमाडौँमा बसोबास गर्दै आएका नागरिक चाडपर्वको बिदा सकिएपछि आफ्नो नियमित काममा फर्किन थालेका हुन् ।
लामो बिदापछि सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था र विभिन्न व्यवसाय पुनः सञ्चालन हुन थालेकाले राजधानी फर्किने यात्रुको सङ्ख्या बढ्दै गएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
उनका अनुसार दसैँ मनाएर फर्किने यात्रुको चाप बढेसँगै राजधानी प्रवेश गर्ने प्रमुख सडक तथा सार्वजनिक यातायातमा चहलपहल बढेको छ । यात्रुको आवागमन सहज बनाउन ट्राफिक प्रहरीले सवारी व्यवस्थापनमा सक्रियता बढाएको छ ।
कार्यालयका अनुसार काठमाडौँ उपत्यका भित्रिने तथा बाहिरिने प्रमुख नाकाहरू नागढुङ्गा (थानकोट), साँगा(भक्तपुर), मुड्खु (बालाजु), फर्पिङ (बल्खु) र टोखा (छहरे)क्षेत्रमा सवारीसाधन तथा यात्रुको चाप बढेको छ ।




