काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ थाइल्याण्डको राजधानी बैंकक पुगेका छन् । एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन मन्त्री श्रेष्ठ मंगलबार बेलुका बैंकक पुगेका हुन्।
बैंककमा नेपाली राजदूत धनबहादुर वलीले मन्त्री श्रेष्ठलाई स्वागत गरेमा थिए । संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक र सामाजिक आयोगद्वारा आयोजित सम्मेलनलाई मन्त्री श्रेष्ठले बुधबार सम्बोधन गर्ने कार्यक्रम छ ।
यसैगरी नेपाल र यूएन इएससीएपीले संयुक्त रूपमा आयोजना गरेको ‘सगरमाथादेखि सागरसम्म: एसिया–प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद् रोक्न नेपालको भोटेकोशी(त्रिशूली घटनाले सिकाएका पाठहरू’ विषयक कार्यशालालाई मन्त्री श्रेष्ठले बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ ।
बिहीबारै मन्त्री श्रेष्ठले एसियन इन्सिच्युट अफ टेक्नोलोजी (एआईटी)ले नेपालमा उत्थानशील पुनर्लाभ तथा पुनरोत्थानमा केन्द्रित भई आयोजना गरेको ‘अनुसन्धान, नवप्रवर्तन र साझेदारीमार्फत एसियामा विपद् उत्थानशीलता अभिवृद्धि’ विषयक गोष्ठीको ‘नेपालको पुनरोत्थानका आवश्यकता तथा चुनौतीहरू’ सत्रलाई सम्बोधन गर्नेछन् ।
सम्मेलनका क्रममा मन्त्री श्रेष्ठले विभिन्न देशका मन्त्रीसँग साइडलाइन वार्ता गर्ने उनका प्रमुख स्वकीय सचिव सञ्जीव महर्जनले बताए ।
सम्मेलनका क्रममा मन्त्री श्रेष्ठले विपद् पूर्वसूचना प्रणाली, क्षेत्रीय स्याटेलाइटको निःशुल्क प्रयोग र जलवायु क्षतिपूर्तिको विषय उठाउने महर्जनले बताए ।
भ्रमणमा टोलीमा नेपाल मौसम विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्म उप्रेती, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका बोर्ड सदस्य अंकिता शाह सहभागी छन् । मन्त्री श्रेष्ठ शनिबार स्वदेश फर्किने कार्यतालिका छ ।




