काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ को छैटौँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ।
आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेका हुन्।
नेपालको संविधानको धारा २९४ बमोजिम प्रमुख आयुक्त राईले आर्थिक वर्ष २०८२/८३ मा आयोगबाट सम्पादन भएका प्रमुख कामकारबाही र गतिविधि समेटिएको प्रतिवेदन पेस गरेका हुन्।
प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले सार्वजनिक पद धारण गरेका व्यक्तिबाट भएको कार्यलाई पारदर्शी, जवाफदेही र भ्रष्टाचारमुक्त बनाई मुलुकमा सुशासन प्रवर्द्धन गर्न आयोगले निर्वाह गरेको संवैधानिक भूमिकाको प्रशंसा गरे।
उनले भ्रष्टाचारजन्य कसुरको पहिचान, अनुसन्धान र अभियोजनका कार्यलाई वैज्ञानिक, विश्वसनीय, प्रविधिमैत्री र नतिजामुखी बनाउन आयोगले अवलम्बन गरेका रणनीतिक तथा कार्यगत प्रयासप्रति खुशी व्यक्त गरेका छन्।
राष्ट्रपति पौडेलले सार्वजनिक निकाय तथा पदाधिकारीमा जवाफदेही नैतिकता र सदाचार प्रवर्द्धन गर्ने कार्यमा आयोगले पुर्याएको योगदानको समेत प्रशंसा गरेका छन्।
सो अवसरमा उनले आयोगले आफ्नो संवैधानिक र कानुनी दायित्व थप प्रभावकारी तथा कार्यगत स्वायत्तता कायम राख्दै निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याए।
राष्ट्रपति पौडेलले आगामी दिनमा आयोगले निष्पक्षता र निर्भीकताका साथ अझ प्रभावकारी ढंगबाट काम गर्न सकोस् भन्ने शुभकामनासमेत व्यक्त गरे।
प्रतिवेदन :




