काठमाडौँ । कपिलवस्तुको वाणगंगा नगरपालिका-९ स्थित सामुदायिक वनबाट प्रहरीले चार नाल भरुवा बन्दुक बरामद गरेको छ ।
वाणगंगा नगरपालिका-९ भर्लावासस्थित खुतखुते सामुदायिक वनको लहरे उकालीमा लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले बन्दुक बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार बन्दुक लुकाएर राखिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट प्रहरी निरीक्षक कालिका कार्कीको नेतृत्वमा खटिएको नौ सदस्यीय टोलीले खोजतलास गरेको थियो ।
प्रहरी टोलीले काठको गोलियाभित्रको खोक्रो भागमा स्याउला र पातले छोपेर लुकाइराखेको अवस्थामा चार नाल भरुवा बन्दुक फेलापारेको उनले जानकारी दिए। प्रहरीले ती बन्दुक बरामद गरी इलाका प्रहरी कार्यालय पिपरामा राखेको छ ।
बरामद बन्दुक कसले र कुन प्रयोजनका लागि लुकाएर राखेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले बताए ।




