काठमाडौँ । स्याङ्जामा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो तीन महिनामा ट्राफिक नियम उल्लंघन गर्ने तीन हजार १८ सवारीसाधन कारबाहीमा परेका छन्। साउनदेखि असोज मसान्तसम्म गरिएको कारबाहीबाट २८ लाख चार हजार रुपैयाँ राजस्व संकलन भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका अनुसार यस अवधिमा सबैभन्दा बढी कार, जिप तथा भ्यान कारबाहीमा परेका छन्। तीन महिनामा यस समूहका ९१७ सवारीसाधनमाथि कारबाही गर्दा नौ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
त्यस्तै, ९०९ मोटरसाइकल तथा स्कुटर कारबाहीमा पर्दा आठ लाख ४९ हजार पाँच सय रुपैयाँ राजस्व उठेको छ।
कार्यालयको विवरण अनुसार ३८२ बसमाथि कारबाहीबाट तीन लाख १३ हजार पाँच सय रुपैयाँ र ३३५ ट्रकबाट दुई लाख ९५ हजार रुपैयाँ संकलन भएको छ।
यसैगरी, २५८ अन्य सवारी साधनबाट दुई लाख छ हजार रुपैयाँ तथा २१७ ट्र्याक्टरमाथिको कारबाहीबाट एक लाख ७२ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ।
ट्राफिक प्रहरीको तथ्यांक अनुसार तीन महिनाको अवधिमा कारबाहीमा परेका कुल सवारीसाधनमध्ये कार, जिप, भ्यान तथा मोटरसाइकल र स्कुटरको सङ्ख्या आधाभन्दा बढी छ। यी दुई समूहका मात्रै एक हजार ८२६ सवारीसाधन कारबाहीमा परेका छन्।
कार्यालयले सार्वजनिक गरेको विवरणमा सवारीसाधनको प्रकारअनुसार कारबाही सङ्ख्या र त्यसबाट संकलित राजस्व उल्लेख गरिएको छ।




