काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्धको खेलमा काठमान्डु गोर्खाजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
काठमान्डुका कप्तान करण केसीले टस जित्दै कर्णालीलाई ब्याटिङको निम्तो दिएका हुन् ।
आजको खेलमा काठमान्डुले अस्ट्रेलियाका अनुभवी ब्याटर डेभिड वार्नरलाई पहिलो रोजाइमा समावेश गरेको छ । वार्नरले अर्का अस्ट्रेलियाली खेलाडी साम हिजलेटको स्थान लिएका हुन् ।
काठमान्डुले अघिल्लो खेलको टोलीमा तीन परिवर्तन गरेको छ । हिजलेटसँगै सुमित महर्जन र हरिशंकर शाह बाहिरिँदा वार्नर, सन्तोष यादव र देव शाह टोलीमा समावेश भएका छन् ।
कर्णालीले भने आफ्नो टोलीमा एक परिवर्तन गरेको छ । बाङ्गलादेशका अकबर अलीको स्थानमा उनकै देशका जिशान आलमले अवसर पाएका छन् ।
प्रतियोगिताका सुरुवाती दुवै खेल जितेको कर्णाली चार अङ्कसहित लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा छ । पहिलो खेलमा जनकपुरसँग पराजित भएको काठमान्डु भने वार्नरको आगमनसँगै प्रतियोगितामा पहिलो जित दर्ता गर्ने प्रयासमा छ ।




