काठमाडौँ । स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे-आन्द्रे पेज छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार काठमाडौँ आइपुगेका छन् ।
प्रतिनिधिसभाका सभामुख डीपी अर्यालको निमन्त्रणामा नेपाल आएका पेजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संसदीय मैत्री समूहकी संयोजक खुश्बु ओलीले स्वागत गरेकी हुन् ।
सभामुखको सचिवालयका अनुसार पेज नेतृत्वको प्रतिनिधिमण्डल कतार एयरवेजको उडानमार्फत काठमाडौँ आइपुगेको हो ।
नेपाल भ्रमणका क्रममा पेजले राष्ट्रपति रामचन्द्र पौडेल, प्रतिनिधिसभाका सभामुख डीपी अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
तीनै पदाधिकारीसँग सोमबार नै भेटवार्ता गर्ने कार्यक्रम रहेको सभामुखको सचिवालयले जनाएको छ ।
नेपाल र स्विट्जरल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा भइरहेको यो भ्रमणलाई दुई देशबीचको संसदीय सम्बन्ध विस्तारका दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।
स्विस संसद्ले सार्वजनिक गरेको भ्रमण कार्यक्रमअनुसार पेजको नेपाल बसाइ नोभेम्बर २ देखि ७ सम्म रहनेछ । भ्रमणका क्रममा द्विपक्षीय सहयोग, सङ्घीयता, जलवायु परिवर्तन र शान्ति स्थापनालगायतका विषयमा समेत छलफल हुने कार्यक्रम छ ।




