काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले करिब सात महिनाको अवधिमा सीमा क्षेत्रबाट एक अर्ब ३३ करोड २६ लाख ९१ हजार ५९९ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको जनाएको छ। सीमा क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था कडा बनाउने सरकारी नीतिअनुसार सञ्चालन गरिएका कारबाहीका क्रममा उक्त परिमाणको सामग्री बरामद भएको हो।
सशस्त्र प्रहरीका अनुसार २०८२ चैत १३ देखि २०८३ कात्तिक १२ गतेसम्म अवैध सामानको ओसारपसार, लागूऔषध कारोबार, हातहतियार तस्करी तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि सीमा क्षेत्रमा निगरानी र कारबाहीलाई तीव्रता दिइएको थियो।
सो अवधिमा १७ नाल अवैध हातहतियार बरामद हुनुका साथै त्यससँग सम्बन्धित आठ जना पक्राउ परेका छन्। त्यस्तै, लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा ४२१ जना पक्राउ परेका छन्। उनीहरूबाट गाँजा, चरेस, अफिम, खैरो हेरोइन, विभिन्न ट्याब्लेट तथा इन्जेक्सनलगायतका लागूऔषध बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
मानव बेचबिखन तथा अवैध ओसारपसार नियन्त्रणका क्रममा जोखिममा रहेका १६७ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ११८ जना बालबालिका रहेका छन्। मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी गतिविधिमा संलग्न रहेको आरोपमा ९१ जना पक्राउ परेका छन्।
सीमा अतिक्रमण नियन्त्रणतर्फ पनि सशस्त्र प्रहरीले विभिन्न स्थानमा कारबाही गरेको जनाएको छ। दशगजाका ३५ स्थानमा रहेका २३७ वटा संरचना हटाइएको छ भने १७ स्थानको ७।४४८ बिघा जग्गामा लगाइएको खेतीपाती हटाइएको छ।
यसैगरी, सीमा क्षेत्रका २०४ स्थानमा कुल ९४.५८८ किलोमिटर क्षेत्रमा सरसफाइ गरिएको छ।
सीमावर्ती समुदायसँगको सम्बन्ध सुदृढ गर्ने तथा सुरक्षा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यस अवधिमा दुई हजार ८०६ वटा कार्यक्रम सञ्चालन गरिएको सशस्त्र प्रहरीको विवरणमा उल्लेख छ।
सीमा क्षेत्रमा सञ्चालित १४१ सहायता कक्षबाट तीन लाख ४९ हजार ९०८ जनाले सेवा लिएका छन्। त्यस्तै, १३ पर्यटक सहायता कक्षमार्फत १० हजार ६५४ जना लाभान्वित भएको जनाइएको छ।
सशस्त्र प्रहरीले सीमा निगरानी, अवैध कारोबार नियन्त्रण, मानव बेचबिखन रोकथाम र सीमावर्ती नागरिकलाई सहायता उपलब्ध गराउने कार्यलाई एकसाथ अघि बढाएको जनाएको छ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएयताको अवधिलाई समेटेर उक्त विवरण सार्वजनिक गरिएको हो।




