काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तिहार पर्वका अवसरमा फूल, माला तथा सजावटका सामग्री बिक्रीका लागि महानगर क्षेत्रभित्र ३३ स्थान निर्धारण गरेको छ। स्वदेशी फूलको बजार प्रवर्द्धन र बिक्री वितरण व्यवस्थित गर्ने उद्देश्यले महानगरले बिक्रीस्थल तोकेको हो।
महानगर प्रहरी बलले सूचना जारी गर्दै नेपाली किसानले उत्पादन गरेका फूल तथा मालाको बिक्रीलाई प्राथमिकता दिन व्यवसायी र सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामग्री बिक्री वितरण नगर्न सचेत गराएको छ।
महानगरका अनुसार प्लास्टिकजन्य तथा तोकिएको गुणस्तर कायम नभएका फूल, माला वा सजावटका सामग्री बिक्री गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिनेछ।
फूलमाला बिक्रीका लागि नयाँ बानेश्वर, शंखमूल, चाबहिल, बत्तीसपुतली, तीनकुने, सिफल, स्वयम्भू, कालीमाटी, कलंकी, माछापोखरी, महाराजगन्ज, गोंगबु, बालुवाटार, कमलादी, पुतलीसडक, अनामनगर, सुनधारा र न्युरोडलगायतका क्षेत्र तोकिएका छन्।
त्यसैगरी, हाँडीगाउँ, सामाखुसी, टेबहाल मन्दिर परिसर, लगन, जैसीदेवल र भृकुटीमण्डपलगायतका स्थानबाट पनि फूल तथा माला बिक्री गर्न सकिने महानगरले जनाएको छ।
महानगरपालिकाले तिहारको समयमा स्वदेशी उत्पादनको खपत बढाउन तथा फूलमालाको व्यापारलाई व्यवस्थित बनाउन तोकिएका बिक्रीस्थल प्रयोग गर्न सम्बन्धित व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई अनुरोध गरेको छ।





