काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ का लागि किसानबाट धान खरिद गर्ने प्रक्रिया अघि बढाएको छ। सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न कम्पनीले विभिन्न शाखालाई अख्तियारी दिनुका साथै खरिद कार्यतालिकासमेत सार्वजनिक गरेको हो।
कम्पनीको महेन्द्रनगर शाखाले किसानबाट धान खरिद गर्ने कार्यतालिका सार्वजनिक गर्दै एक किसानबाट अधिकतम ३० क्विन्टलसम्म धान खरिद गर्ने व्यवस्था गरेको छ। वास्तविक उत्पादक किसानले समर्थन मूल्यको लाभ पाउन् र खरिद प्रक्रियामा बिचौलियाको प्रवेश नहोस् भन्ने उद्देश्यले यस्तो सीमा निर्धारण गरिएको हो।
सरकारले गत जेठ ११ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार चालु आर्थिक वर्षका लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६०६ रुपैयाँ र मध्यम धानको तीन हजार ८६० रुपैयाँ निर्धारण गरेको छ।
सोही मूल्यका आधारमा कम्पनीको प्रधान कार्यालयले कात्तिक १२ गते बर्दियास्थित मुख्य शाखा कार्यालय राजापुरलाई पहिलो चरणमा ३० हजार क्विन्टल धान खरिद गर्न अख्तियारी दिएको छ। त्यसमध्ये २५ हजार क्विन्टल मोटा र पाँच हजार क्विन्टल मध्यम धान खरिद गरिनेछ।
प्रधान कार्यालयले वास्तविक किसानबाट मात्रै धान खरिद गर्न निर्देशन दिएको छ। विशेष गरी अस्वाभाविक रूपमा एकै पटक ठुलो परिमाणमा धान बिक्री गर्न आउने व्यक्तिको पहिचान गरी बिचौलियामार्फत हुने कारोबार निरुत्साहित गर्न भनिएको छ।
महेन्द्रनगरमा कात्तिक १९ र २० गते कुपन वितरण
कञ्चनपुरस्थित महेन्द्रनगर शाखाले कात्तिक १६ गतेको प्राथमिक खरिद समितिको निर्णयअनुसार धान खरिदको कार्यतालिका सार्वजनिक गरेको छ।
कार्यतालिका अनुसार धान बिक्री गर्न इच्छुक किसानलाई कात्तिक १९ र २० गते शाखा कार्यालय परिसरबाट कुपन वितरण गरिनेछ। कुपन प्राप्त गरेका किसानको धान कात्तिक २७ गतेदेखि खरिद गर्न सुरु गरिनेछ।
सार्वजनिक बिदाका दिनबाहेक कार्यालयको गोदाममा धानको तौल गर्ने व्यवस्था मिलाइएको छ। किसानले कुपनमा उल्लेख भएको मितिमै धान बिक्रीका लागि ल्याउनुपर्नेछ। तोकिएको दिनबाहेक अन्य दिन धान ल्याए कम्पनी खरिद गर्न बाध्य नहुने स्पष्ट पारिएको छ।
धान बिक्री गर्न लालपुर्जा र नागरिकता अनिवार्य
कम्पनीले किसानको पहिचान सुनिश्चित गर्न आवश्यक कागजातसम्बन्धी व्यवस्था पनि गरेको छ।
धान बिक्रीका लागि कुपन लिन आउने किसानले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) र नागरिकताको फोटोकपी अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।
आफ्नै जग्गा नभई भाडा वा ठेक्कामा जग्गा लिएर खेती गर्ने किसानले भने जग्गा ठेक्कामा लिएको सम्झौता पत्र वा सम्बन्धित वडा कार्यालयले दिएको सिफारिसको सक्कल पत्र पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, धानको तौल गराउने समयमा किसानको पहिचान खुल्ने गरी वडा कार्यालयबाट जारी गरिएको सिफारिस पत्रको सक्कल प्रतिसमेत बुझाउनुपर्नेछ।
गुणस्तर परीक्षणपछि मात्रै खरिद, भुक्तानी बैंक खातामा
कम्पनीले खरिद गर्ने धानको गुणस्तरमा समेत मापदण्ड तोकेको छ। किसानले बिक्रीका लागि ल्याउने धानमा पराल, भुसा, पोकटा, माटो तथा ढुङ्गाजस्ता बाह्य पदार्थ मिसिएको हुनुहुँदैन।
धान सफा र तोकिएको गुणस्तरअनुसार भएको यकिन गरेपछि मात्रै तौल गरी खरिद गरिनेछ।
किसानले बिक्री गरेको धानको रकम भने नगदमा भुक्तानी गरिने छैन। खरिदबापतको सम्पूर्ण रकम सम्बन्धित किसानकै बैंक खातामा सिधै जम्मा गरिने व्यवस्था गरिएको छ।
कम्पनीले निर्धारित कार्यतालिका, आवश्यक कागजात र गुणस्तरसम्बन्धी मापदण्ड पूरा गरेर मात्रै धान बिक्रीका लागि ल्याउन किसानलाई आग्रह गरेको छ।




