काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले समाजलाई अति दलीयकरणबाट मुक्त गर्न आग्रह गर्दै यस कार्यमा सामाजिक संघसंस्थाको भूमिका अहम् हुने बताएका छन् ।
आज सुनसरीमा तरहरा जेसीस सप्ताहको उद्घाटन गर्दै उनले सबैतिर राजनीतिकरण एवं दलीयकरणको दबदबाले अपेक्षति सामाजिक विकास हुन नसकेको औँल्याए ।
अहिलेको समाज बिस्तारै दलीयकरणतर्फ धकेलिइरहेको बताउँदै उनले मुलुकको युवा बर्गलाई सामाजिक विकास, उद्यमशीलता र राष्ट्रको हर क्षेत्रको नेतृत्वदायी भूमिकामा लाग्न प्रेरित गर्नुपर्नेमा जोड दिए ।
‘समाज अति दलीयकरणको मारमा परेको छ, कम्तिमा पनि सामाजिक पछ्यौटेपनका विरुद्धमा लागिरहेका अगुवा संघ-संस्थाले आफूलाई यस्तो छाँयाबाट परै राख्न सकेमा समाजको गतीशीलता अझ बढ्दै जान्छ,’ उनले भने, ‘मुलुकको बृहत्तर हितका लागि यो अब आवश्यक भइसकेको छ ।’
सचेतक परियारले मुलुकको युवा बर्गलाई आफ्ना योग्यता र क्षमताअनुसार उद्यमशीलता र सिर्जनशीलताको अभियानमा लाग्न पनि आग्रह गरे ।




