काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले आफू काठमाडौँ फर्कँदै गरेको र प्रहरीसमक्ष उपस्थित हुने बताएका छन्।
शिवाकोटीले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रहरीको बोलावटबाट आफू विचलित नहुने प्रतिक्रिया दिएका हुन्।
‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्न, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौँ आउँदैछु,’ उनले फेसबुकमा लेखेका छन्।
शिवाकोटीले वर्तमान सरकारले डर र त्रासको वातावरण सिर्जना गरेर सत्ता सञ्चालन गर्न खोजेको आरोप लगाएका छन्।
आफूले कुनै गल्ती नगरेको आशय व्यक्त गर्दै उनले प्रहरीसमक्ष उपस्थित हुनबाट पछि नहट्ने स्पष्ट पारेका छन्।





