काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगनकुमार थापाविरुद्ध सरकारले प्रतिशोधपूर्ण कदम चाले त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन्। उनले प्रहरी प्रशासनलाई राजनीतिक स्वार्थअनुसार परिचालन गर्ने प्रयास भइरहेको आरोपसमेत लगाएका छन्।
ललितपुरको बज्रबाराहीमा बिहीबार आयोजित सरसफाइ तथा फूल रोप्ने कार्यक्रममा बोल्दै राणाले सभापति थापालाई पक्राउ गर्ने प्रयास भइरहेको दाबी गर्दै त्यस्तो कदम काँग्रेसका लागि स्वीकार्य नहुने बताएका हुन्।
‘सभापति गगनकुमार थापामाथि सरकारले कुनै पनि गलत कदम चाल्यो भने काँग्रेस टुलुटुलु हेरेर बस्दैन,’ उनले भने, ‘त्यस्तो कदमको दृढतापूर्वक प्रतिरोध गर्छौँ।’
प्रहरी हिरासतमा रहेका इनम सापकोटाको बयानलाई आधार बनाएर सभापति थापालाई पक्राउ गर्ने प्रयास भइरहेको राणाको दाबी छ। उनले राजनीतिक प्रतिशोधका आधारमा कसैलाई नियन्त्रणमा लिन खोजिए त्यसविरुद्ध एकजुट हुन पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्।
यद्यपि, सभापति थापालाई पक्राउ गर्ने तयारी भइरहेको भन्ने राणाको दाबी स्वतन्त्र रूपमा पुष्टि भएको छैन। थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको वा उनलाई नियन्त्रणमा लिने औपचारिक निर्णय भएको विवरणसमेत सार्वजनिक भएको छैन।
राणाले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयमाथि पनि प्रश्न उठाएका छन्। गैरकानुनी रूपमा व्यक्तिहरूलाई पक्राउ गर्न दबाब दिइएको र त्यस्तो निर्देशन पालना गर्न नमानेकै कारण कार्कीलाई जिम्मेवारीबाट हटाइएको उनको आरोप छ।
सुरक्षा निकायको व्यावसायिक स्वतन्त्रता र कानुनी प्रक्रियामाथि राजनीतिक हस्तक्षेप बढ्नु लोकतान्त्रिक व्यवस्थाका लागि गम्भीर विषय भएको उनले बताए। प्रहरीलाई राजनीतिक नेतृत्वको इच्छाअनुसार नभई संविधान र कानुनअनुसार काम गर्न दिनुपर्नेमा उनको जोड थियो।
महामन्त्री राणाले पछिल्लो समय सञ्चार क्षेत्रमाथि समेत दबाब बढाइएको आरोप लगाए। सञ्चारगृहमा प्रहरी परिचालन र पत्रकार पक्राउका घटनाको विरोध गर्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न सरकार जिम्मेवार हुनुपर्ने बताए।
उनले न्यायालयमाथि समेत प्रभाव पार्ने प्रयास भइरहेको आरोप लगाउँदै राज्यका प्रमुख निकायलाई राजनीतिक नियन्त्रणमा राख्ने प्रवृत्तिले विधिको शासन कमजोर बनाउने टिप्पणी गरे।
सरकारका पछिल्ला गतिविधि लोकतान्त्रिक मूल्य, कानुनी शासन र नागरिक अधिकार विपरीत रहेको आरोप लगाउँदै राणाले त्यसविरुद्ध लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने बताए। सरकार स्वेच्छाचारी ढंगले अघि बढे राजनीतिक र नागरिकस्तरबाट प्रतिरोध हुने उनको चेतावनी छ।





