काठमाडौँ । तिहार नजिकिएसँगै राजधानी काठमाडौँका फूल तथा माला पसलहरूमा किनमेल गर्नेहरूको चहलपहल बढेको छ ।
तिहारमा विशेष गरी दिदीबहिनीले दाजुभाइलाई भाइटिकामा लगाइदिने माला तथा घर सजावटका लागि आवश्यक सयपत्री, गोदावरी मखमलीलगायतका फूल किन्ने उपभोक्ताहरूको बजारमा चहलपहल बढेको हो ।
तिहारलाई फूल तथा मालाको पर्वका रूपमा समेत लिइन्छ । तिहारमा फूलको माला लगाएर घरको झ्याल, ढोका, दियोघर, कलश लयायतको सजावट गर्ने भएकोले बजारमा फूलको माग समेत उच्च हुने गरेको छ । हाल बजारमा घर, कार्यालय तथा विभिन्न व्यापारिक प्रतिष्ठान सजाउन र भाइटिकाका लागि माला खरिद गर्न उपभोक्ताहरू व्यस्त छन् ।
काठमाडौँ महानगरपालिकाले व्यवसायी र उपभोक्तालाई सहजताको लागी फूल तथा माला बिक्रीका लागि स्थान समेत तोकिदिएको छ । महानगरले तोकेका क्षेत्रमा व्यवसायीहरूले पसल राख्ने र उपभोक्ताहरूले खरिद गर्ने गरिरहेका छन् ।
महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रमा एनबी सेन्टर र आईप्लेक्स मल, शंखमुलको बिग मार्ट, मध्यबानेश्वरको सेल्सबेरी, बत्तीसपुतलीको फोनेक्स टावर, तीनकुने चौर र सिफल चौरलाई बिक्रीस्थल तोकेको छ । त्यस्तै, चाबहिल क्षेत्रमा एसी कम्प्लेक्स, गणेशस्थान तरकारी बजार र केएल टावर अगाडि स्वदेशी फूलमाला बिक्री गर्न पाइने व्यवस्था गरिएको छ । यसैगरी कमलादीस्थित आइटी बिल्डिङ, पुतलीसडकको स्टार मल, अनामनगरको भाटभटेनी, सुन्धाराको काठमाडौँ मल, न्युप्लाजास्थित बज्र कम्प्लेक्स (गुड मार्ट), स्वयम्भूको धर्म चक्र पार्क, कलंकीको भाटभटेनी, नयाँ बजारको भ्याली कोल्ड स्टोर तथा माछापोखरीको बुद्ध मल र गुणस्तर खाल्डोलाई समेत स्वदेशी फूलमाला विक्रीस्थलका रूपमा तोकिएको छ । महानगरले तोकेका यी स्थानबाट स्वदेशी फूल तथा माला विक्री वितरण भइरहेको छ ।
काठमाडौँ महानगरले स्वदेशी फूल तथा माला विक्रीलाई प्रवर्द्धन गरिरहेको छ ।
तिहारको रौनक लागेसँगै उपभोक्ताहरू कोही माला किन्न व्यस्त देखिन्छन् भने कोही घर तथा पसल सजावटमा लागेका छन् । आइतबार लक्ष्मीपूजा भएकोले पनि यतिवेला घर सजावटको कार्य भइरहेको छ ।





