काठमाडौँ । काठमाडौँको बालुवाटारस्थित एक रेस्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा नौ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट ६ लाख ८५ हजार १९५ रुपैयाँ नगदसहित तास र मोबाइल फोन बरामद गरेको छ।
काठमाडौँ महानगरपालिका-४ बालुवाटारस्थित नेपाल हाउस रेस्टुरेन्टमा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको टोलीले आइतबार बिहान करिब २ बजे छापा मारेको हो।
प्रहरीका अनुसार रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा फेला परेका नौ जनालाई नियन्त्रणमा लिइएको हो। उनीहरूको साथबाट नौ बुक तास, १० थान मोबाइल फोन र नगद बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-४ का ४९ वर्षीय सुनिल श्रेष्ठ, ३७ वर्षीय सहिद महमद, २८ वर्षीय सरोज कार्की र ३४ वर्षीय अनिल भण्डारी रहेका छन्।
त्यस्तै, बुढानीलकण्ठ नगरपालिका-१२ का ३१ वर्षीय सोनाम शेर्पा, काठमाडौँ महानगरपालिका-२ का ३७ वर्षीय गणेशमान श्रेष्ठ र ललितपुर महानगरपालिका-२५ का २२ वर्षीय अनिल लामिछाने पनि पक्राउ परेका छन्।
प्रहरीले संखुवासभाको सभापोखरी गाउँपालिका-६ का ३५ वर्षीय ताराविर तामाङ र सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-३ का २१ वर्षीय महेन्द्र खनाललाई समेत नियन्त्रणमा लिएको छ।
पक्राउ परेका व्यक्तिहरू र बरामद सामग्रीका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





