काठमाडौँ। नुवाकोटको विदुर नगरपालिका-९, खड्कथोकमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
सोमबार बिहान करिब १०:५५ बजे बा.९९ प.८२०२ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको नेपाल प्रहरीले जनाएको छ।
दुर्घटनामा धादिङको खनियाबास गाउँपालिका-५ घर भई हाल विदुर नगरपालिका-९ बस्दै आएका ४७ वर्षीय मोटरसाइकल चालक बुद्धिमान तामाङ, विदुर नगरपालिका-१३ की ३१ वर्षीया बिन्दा थापा मगर र सोही स्थानकी २७ वर्षीया सुनिता थापा मगरको मृत्यु भएको हो।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली पुर्याइएको थियो। उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो।
घटनापछि जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको छ। प्रहरीले दुर्घटनाको कारण पत्ता लगाउन आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।





