काठमाडौँ । अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इरानसँग जारी कूटनीतिक प्रयासमा उल्लेखनीय प्रगति हुन नसकेको बताएका छन् ।
आइतबार फ्लोरिडाबाट फ्रान्स प्रस्थान गर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले इरानले अघि सारेका मागहरू अस्वीकार्य र कतिपय अव्यावहारिक रहेको बताए । इरानसँगको युद्ध अन्त्य गर्न कूटनीतिक तहमा कुनै ठोस उपलब्धि हासिल नभएको उनको भनाइ थियो ।
विभिन्न देशले इरानसँग संवाद गर्दै समाधानका लागि फरक–फरक प्रस्ताव अघि सारे पनि तत्कालै कुनै महत्त्वपूर्ण सहमति हुने अवस्था नरहेको उनले स्पष्ट पारे। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हरेक समस्याको समाधान कूटनीतिक माध्यमबाटै खोज्न चाहने भए पनि सबै अवस्थामा त्यो सम्भव नहुने रुबियोले बताए। यद्यपि कूटनीतिक समाधानको सम्भावना रहेसम्म प्रयास जारी राखिने उनको भनाइ थियो । यसअघि आइतबार सीएनएनसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले वार्तामा प्रगति भइरहेसम्म इरानमाथि पुनः ठूलो स्तरको सैन्य आक्रमण हुने सम्भावना निकै कम रहेको बताएका थिए ।
तर उन थप सैन्य कारबाहीको सम्भावनालाई भने अस्वीकार गरेका थिएनन् । यसैबीच, अमेरिकी सेनाको केन्द्रिय कमान्डले शनिबार ‘टास्क फोर्स आइरन गेट’ गठन गरेको घोषणा गरेको छ । करिव २० जना सैन्य तथा नागरिक अधिकारी सम्मिलित उक्त कार्यदलले इरानको स्थल सीमा तथा अन्य मार्गबाट अत्याधुनिक हतियार र सैन्य सामग्रीको आवागमन रोक्न अमेरिकी सरकारी निकायबीच समन्वय गर्ने जिम्मेवारी पाएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत उक्त कार्यदल इरानमा पूर्ण रूपमा सक्रिय रहेको दाबी गरेका छन् ।
अमेरिकी नौसैनिक नाकाबन्दीसँगै कार्यदलको सक्रियताका कारण इरानभित्र अत्यन्तै कम सामग्री प्रवेश गर्न वा बाहिरिन सक्ने उनको दाबी छ ।





