काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति मधु आचार्यले नेपाल संवत् कुनै जाति वा समुदाय विशेषको नभई नेपालभित्र बस्ने सबै नेपालीको मौलिक संवत् भएको बताएका छन् ।
मंगलवार भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वा: प्रतिष्ठानले नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपाल संवत् नेपालको पहिचान, मौलिकता र राष्ट्रिय गौरवसँग जोडिएको उल्लेख गरे ।
उनले राष्ट्रिय विभूतिको सूचीमा लामो समयसम्म राजा–महाराजा, धार्मिक व्यक्तित्व तथा वीरवीरङ्गनाहरूले मात्र स्थान पाउँदै आएको उल्लेख गर्दै जनताको ऋणमोचन र मानव कल्याणका लागि योगदान गर्ने शङ्खधर साख्वाजस्ता सर्वसाधारण नागरिकलाई राष्ट्रिय विभूतिको सम्मान दिन लोकतान्त्रिक परिवर्तनले भूमिका खेलेको बताए।
२०४६ सालको राजनीतिक परिवर्तनपछि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नेतृत्वमा शङ्खधर साख्वालाई राष्ट्रिय विभूतिको रूपमा सम्मान गरिएको स्मरण गर्दै उनले त्यसका लागि भट्टराईप्रति सम्मान व्यक्त गरे । त्यस्तै, तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले नेपाल संवतलाई राष्ट्रिय संवत्का रूपमा स्वीकार गर्ने निर्णय गरेको स्मरण गर्दै उनले त्यसलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिनुपर्ने बताए । आचार्यले कुनै पनि राष्ट्रको आफ्नै भाषा, लिपि र लेखन प्रणालीजस्तै मौलिक संवतको पनि विशिष्ट महत्त्व हुने उल्लेख गरे । नेपालले लामो समयसम्म अन्य संवतलाई प्राथमिकता दिए पनि आफ्नै मौलिक संवतलाई स्वीकार गर्न ढिलाइ गरेको उनको भनाइ छ ।
नेपाल संवत् सबै नेपालीको साझा सम्पत्ति भएको भन्दै उनले यसको स्थापनाका लागि योगदान गर्ने नागरिक अभियन्ताहरूलाई स्मरण गरे । विशेषगरी पद्मरत्न तुलाधर लगायतका व्यक्तित्वले नेपाल संवत्लाई स्थापित गराउन महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए।
आचार्यले भने, ‘नेपालका राष्ट्रिय विभूतिहरूमध्ये शङ्खधर साख्वा: एक विशिष्ट व्यक्तित्व हुनुहुन्छ । उहाँले सर्वसाधारण जनतालाई ऋणमुक्त गराई मानवता, परोपकार र सामाजिक सेवाको अनुपम उदाहरण प्रस्तुत गर्नुभयो । यति महान् कार्य गर्ने एक साधारण नागरिकलाई राष्ट्रिय विभूतिको सम्मान दिलाउन लोकतान्त्रिक आन्दोलनले महत्त्वपूर्ण भूमिका खेलेको छ । २०४६ सालको राजनीतिक परिवर्तनपछि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नेतृत्वमा शङ्खधर साख्वा:लाई राष्ट्रिय विभूतिको मान्यता प्रदान गरिनु ऐतिहासिक उपलब्धि हो । त्यसैगरी तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा नेपाल सम्वत्लाई राष्ट्रिय संवत्को मान्यता दिने निर्णय हुनु अर्को महत्त्वपूर्ण उपलब्धि हो । नेपाल सम्वत कुनै जाति वा समुदाय विशेषको मात्र नभई सम्पूर्ण नेपालीको साझा मौलिक राष्ट्रिय संवत् हो । राष्ट्रको भाषा, लिपि र संस्कृति जस्तै आफ्नै संवत् हुनु पनि राष्ट्रिय पहिचान र स्वाभिमानको विषय हो । नेपाल सम्वतलाई राष्ट्रिय पहिचानका रूपमा स्थापित गर्न पद्मरत्न तुलाधरलगायतका नागरिक अभियन्ताहरूले पुर्याउनुभएको योगदान स्मरणीय छ। उहाँहरू सबैप्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।’
कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाहको शुभकामना सन्देश प्राप्त भएको उल्लेख गर्दै आचार्यले अभियानमा संलग्न नागरिकहरूले प्रधानमन्त्रीलाई नै कार्यक्रममा उपस्थित भएको देख्न र भेट्न चाहेको बताए । उनले नेपाल संवत्को प्रवर्द्धनमा योगदान पुर्याउने सबै अभियन्ता तथा व्यक्तित्वप्रति सम्मान व्यक्त गरे ।





