काठमाडौँ । तिहारको भाइटीकाका दिन सार्वजनिक यातायातका साधन कम सञ्चालन हुँदा आवतजावतमा पर्न सक्ने समस्या कम गर्न सशस्त्र प्रहरी बल, नेपालले काठमाडौँ उपत्यकामा नि:शुल्क बस सेवा सञ्चालन गरेको छ ।
चाडपर्वका बेला यात्रुको सहज आवागमनलाई प्राथमिकता दिँदै सशस्त्र प्रहरीले काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्र समेट्ने गरी तीनवटा बस सञ्चालनमा ल्याएको हो । बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने बसमा सर्वसाधारणले कुनै शुल्क तिर्नुपर्ने छैन ।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट सञ्चालन हुने पहिलो बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु क्षेत्रका यात्रुलाई सेवा दिनेछ । यस रुटले उपत्यकाका विभिन्न स्थानमा आवतजावत गर्ने सर्वसाधारणलाई सुविधा पुर्याउने अपेक्षा गरिएको छ ।
त्यस्तै, प्रधान कार्यालयबाटै सञ्चालन हुने दोस्रो बस सीतापाइला, कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै सञ्चालन हुनेछ । यसबाट उपत्यकाका पश्चिमी तथा अन्य क्षेत्रका यात्रुलाई आवतजावतमा सहज हुने विश्वास गरिएको छ ।
भक्तपुरसम्म पुग्ने यात्रुलाई लक्षित गर्दै तेस्रो बसको व्यवस्था गरिएको छ । सशस्त्र प्रहरी बलको स्वयम्भूस्थित प्रधान कार्यालयबाट छुट्ने उक्त बस स्वयम्भू, कलंकी, बानेश्वर, कोटेश्वर, पेप्सिकोला, सानोठिमी, पुरानोठिमी, सल्लाघारी र लोकन्थली हुँदै पुन: बानेश्वर, कलंकी र स्वयम्भू फर्किनेछ ।
भाइटीकाका दिन आफन्तकहाँ टीका लगाउन जाने तथा अन्य अत्यावश्यक कामले यात्रा गर्नुपर्ने सर्वसाधारणलाई सार्वजनिक सवारीसाधनको अभावले कठिनाइ हुन सक्ने अवस्थालाई ध्यानमा राखेर यो व्यवस्था गरिएको हो ।
चाडपर्वमा यात्रुको चाप र सार्वजनिक यातायातको सीमित उपलब्धताबीच सशस्त्र प्रहरीले सञ्चालन गरेको नि:शुल्क सेवाले विशेषगरी निजी सवारीसाधन नभएका सर्वसाधारणलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।






