काठमाडौँ । मोरङको सुनवर्षी नगरपालिका-६, झपडतलमा बुधबार साँझ भएको आगलागीबाट आवासीय घरसहित पाँचवटा संरचना जलेर नष्ट भएका छन्। पटाका पड्काउने क्रममा आगो सल्किएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।
आगलागीबाट स्थानीय दिलबहादुर कार्कीको काठले बनेको दुईतले घर, दुईवटा गाईगोठ, भान्छा घर र भण्डारघर पूर्ण रूपमा जलेका हुन्।
प्रहरीका अनुसार बुधबार साँझ करिब ६:४५ बजे सुरु भएको आगलागी नियन्त्रणमा लिन मध्यरातसम्म लागेको थियो। आगो निभाउन रतुवामाई र रंगेली नगरपालिकाका साथै कानेपोखरी गाउँपालिकाबाट दमकल परिचालन गरिएको थियो। सुरक्षाकर्मी, दमकलका कर्मचारी र स्थानीयवासीको संयुक्त प्रयासपछि आगो नियन्त्रणमा आएको हो।
आगलागीका क्रममा गोठमा रहेका गाईगोरु बाहिर निकाल्ने प्रयास गर्दा कार्कीकी नातिनी सुष्मा कार्कीको हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
घटनामा एक करोड रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि, क्षतिको यकिन विवरण आउन बाँकी रहेको र त्यससम्बन्धी तथ्यांक संकलन भइरहेको प्रहरीले जनाएको छ।





