काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को प्रस्तावित भारत भ्रमणका क्रममा लामो समयदेखि अघि बढ्न नसकेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना र नेपाल–भारत सीमामा निर्माणाधीन सुक्खा बन्दरगाहका विषयमा छलफल हुने भएको छ।
भारतको उत्तराखण्ड राज्यका मन्त्री सतपाल महाराजले प्रधानमन्त्री शाहको आसन्न भ्रमणमा पञ्चेश्वर बाँध परियोजना, सीमा क्षेत्रका समस्या र सुक्खा बन्दरगाहलगायत द्विपक्षीय सरोकारका विषय उठाइने बताएका हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार मन्त्री महाराजले प्रधानमन्त्री शाह आगामी नोभेम्बर २२ मा भारत भ्रमणमा जाने सम्भावना रहेको उल्लेख गर्दै त्यस अवसरमा नेपाल र भारतबीच लामो समयदेखि छलफलमा रहेका परियोजनालाई अघि बढाउने विषयमा संवाद हुने बताएका छन्।
‘नेपालका प्रधानमन्त्री बालेन शाह भारत भ्रमणमा आउँदै हुनुहुन्छ। सम्भवतः नोभेम्बर २२ मा उहाँको भ्रमण हुनेछ,’ मन्त्री महाराजको भनाइ उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्, ‘त्यस क्रममा पञ्चेश्वर बाँध परियोजना, नेपाल–भारत सीमा क्षेत्रका समस्या र प्रस्तावित सुक्खा बन्दरगाहका विषयमा छलफल हुनेछ।’
नेपाल र भारतको साझा लगानी तथा सहकार्यमा निर्माण गर्ने अवधारणा रहेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना लामो समयदेखि कार्यान्वयनमा जान सकेको छैन। महाकाली नदीमा प्रस्तावित आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), निर्माण लागत, पानीको बाँडफाँट र लाभको हिस्सेदारीलगायत विषयमा दुई देशबीच सहमति जुट्न बाँकी छ।
दुवै मुलुकले यसअघि डीपीआरलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाए पनि विवादित प्राविधिक तथा नीतिगत विषय टुंगीन नसक्दा आयोजना निर्माणको चरणमा प्रवेश गर्न सकेको छैन।
पञ्चेश्वर आयोजना नेपाल र भारतबीच जलस्रोत उपयोग तथा ऊर्जा सहकार्यको महत्त्वपूर्ण परियोजनाका रूपमा हेरिँदै आएको छ। आयोजना कार्यान्वयनमा आए विद्युत् उत्पादन, सिँचाइ विस्तार तथा बाढी नियन्त्रणमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
यसैगरी, प्रधानमन्त्रीको भ्रमणमा कञ्चनपुरको दोधारा-चाँदनी क्षेत्रमा निर्माणाधीन सुक्खा बन्दरगाह र त्यससँग सम्बन्धित सीमा पूर्वाधारका विषयले पनि प्राथमिकता पाउने संकेत भारतीय पक्षले गरेको छ।
सुक्खा बन्दरगाह सञ्चालनमा आए नेपालको सुदूरपश्चिम क्षेत्रबाट भारतसँग हुने व्यापार तथा पारवहन सम्पर्क विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। तर परियोजनाको प्रभावकारी सञ्चालनका लागि सीमा जोड्ने सडक, भन्सार पूर्वाधार तथा दुवै देशबीच समन्वय आवश्यक छ।
मन्त्री महाराजले नेपाल-भारत सीमा क्षेत्रमा देखिएका समस्या समाधानका साथै पर्यटन प्रवर्द्धन र आपसी सहकार्यका सम्भावनाबारे पनि छलफल हुने बताएका छन्।





