मुगु । मुन्दु गाउँ र सेराको जोड्ने २५० मिटर लामो झोलुंगे पुल निर्माण हुने भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले पुल निर्माणका लागि रु ३० लाख बजेट विनियोजन गरिएको बताएका छन् ।
हालै यहाँ स्थानीयसँग आयोजना गरिएको छलफलमा मुख्यमन्त्री शाहीले कोटिला र मुन्दु गाउँका बासिन्दालाई स्थानीय सडक मर्मतसम्भारसँगै धार्मिक र पर्यटकीय महत्वको ऋणमोक्ष धामसम्म पुग्ने बाटो पनि सुधार गरिने प्रतिबद्धता व्यक्त गर्दै पुल निर्माणको प्रक्रिया तत्काल प्रारम्भ गरिने बताए ।
पुल निर्माणपछि मुन्दु, कोटिला, लिउडी, घट्टलेक, तलीलेक, लुवारपोल्नालगायत दर्जनौँ बस्तीका स्थानीयलाई आवतजावतमा सहज हुनेछ ।





