काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङका राहत शिक्षक सुरेन्द्रकुमार विश्वास थारुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
थारु मोरङको ग्रामथान गाउँपालिका-५ स्थित आदर्श निकेतन आधारभूत विद्यालयमा निम्न माध्यमिक तहको गणित विषयका राहत शिक्षक हुन् ।
आयोगका अनुसार उनले उक्त पदमा नियुक्ति पाउन भारतको बिहार स्कुल एक्जामिनेसन बोर्डबाट जारी भएको भनिएको आईएस्सी तहको नक्कली प्रमाणपत्र पेस गरेका थिए ।
उजुरीमाथि अनुसन्धान गर्दा थारुले सोही प्रमाणपत्रका आधारमा नियुक्ति लिएको पाइएको आयोगले जनाएको छ । आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय माग गर्दै शुक्रबार आरोप पत्र दायर गरेको हो ।





