काठमाडौँ । थाइल्यान्डबाट काठमाडौँ आएका एक भारतीय नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे पाँच किलो सेतो हेरोइनसहित पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोका अनुसार बरामद हेरोइनको अनुमानित बजार मूल्य २२ करोड रुपैयाँ छ ।
ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार पक्राउ पर्नेमा भारतको महाराष्ट्रका ५२ वर्षीय रेवाज तिघरी छन् । हवाई मार्गबाट हुन सक्ने लागुऔषध ओसारपसार रोक्न ब्युरोले शंकास्पद यात्रुमाथि निगरानी गरिरहेको थियो । सोही क्रममा तिघरीलाई कात्तिक २८ गते विमानस्थलमा पक्राउ गरिएको रेग्मीले बताए ।
बरामद हेरोइन भारत लैजान लागिएको प्रहरीको भनाइ छ । तिघरीको अन्तर्राष्ट्रिय लागुऔषध ओसारपसार सञ्जालमा मुख्य भूमिका रहेको प्रहरीको दाबी छ ।
रेग्मीका अनुसार तिघरी यसअघि लाओसबाट दुईपटक नेपाल आएका थिए । पहिलो पटक हवाई मार्गबाट आएका उनी दोस्रो पटक भारत हुँदै स्थलमार्गबाट नेपाल प्रवेश गरेका थिए । उनले जिम्बाबे, सुडान, बंगलादेश, भियतनाम र कम्बोडियाको पनि भ्रमण गरेको प्रहरीले जनाएको छ । उनको साथबाट मेकानिकल इन्जिनियरिङको प्रमाणपत्रसमेत बरामद भएको छ ।





