काठमाडौँ । अमेरिकास्थित नेपाली एसोसिएसन अफ ओरेगनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि १ करोड १७ लाख ६० हजार रुपैयाँ सहयोग गरेको छ । संस्थाले मन्त्रालयमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई उक्त रकम हस्तान्तरण गरेको हो ।
सहयोग रकम बुझ्दै मन्त्री पुनले कोषको रकम पारदर्शी रूपमा खर्च गरिने र दुरुपयोग हुन नदिइने बताए । बाढी पहिरोबाट प्रभावित क्षेत्रमा राहत पुर्याउन र क्षतिग्रस्त सडक, पुल, विद्यालय तथा अस्पताल पुनर्निर्माण गर्न कोषको रकम खर्च भइरहेको उनको भनाइ थियो ।
विभिन्न संस्था र विदेशी निकायको अनुमान उद्धृत गर्दै पुनले हालैको बाढी पहिरोबाट करिब तीनदेखि चार खर्ब रुपैयाँ बराबरको क्षति भएको बताए । उनले पुनर्निर्माणका लागि कोषमा जम्मा भएको रकम मात्र पर्याप्त नहुने उल्लेख गरे ।
भोटेकोशीमा आएको बाढीले सडक सञ्जाल अवरुद्ध पारेपछि उद्धार र राहतका लागि हेलिकप्टरको व्यापक प्रयोग गर्नुपरेको पुनले बताए । उनका अनुसार हेलिकप्टर प्रयोगमा मात्रै ३०-४० करोड रुपैयाँभन्दा बढी खर्च भएको छ ।






