काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा वीरगन्जस्थित बाल सुधार गृहबाट फरार भएका २२ वर्षीय युवक पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले उनलाई कात्तिक ३० गते बिहान करिब साढे ९ बजे वीरगन्ज महानगरपालिका-४ स्थित मालपोत चोकबाट नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-५ का ती युवक २०८२ भदौ २४ गते बाल सुधार गृहबाट फरार भएका थिए । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार ती युवकविरुद्ध सुर्खेत जिल्ला अदालतमा अप्राकृतिक मैथुन र बाँके जिल्ला अदालतमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलेका थिए । उनलाई १२ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना तोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउपछि उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।





