काठमाडौँ । कामिल मिशाराले नेपाल प्रिमियर लिग (एनपीएल) इतिहासकै उच्च व्यक्तिगत स्कोर बनाएपछि चितवन राइनोजले एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई जितका लागि २०५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले मिशाराको अविजित १२० रनको मद्दतमा निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०४ रन बनायो ।
काठमान्डुका कप्तान करण केसीले तेस्रो ओभरका लगातार दुई बलमा देव खनाल र डेविड मलानलाई आउट गरेपछि चितवन दबाबमा परेको थियो । खनाल १७ रनमा आउट भए भने मलानले खाता खोल्न सकेनन् । चितवनले पावरप्लेमा दुई विकेट गुमाएर ३४ रन बनाएको थियो ।
आठौँ ओभरमा विलियम बोसिस्टोले क्याच छुटाएपछि जीवनदान पाएका मिशाराले कप्तान रवि बोपारासँग मिलेर चितवनको इनिङ्स सम्हाले । ३३ बलमा अर्धशतक पूरा गरेका मिशाराले १४औँ ओभरमा सोनु देवकोटालाई लगातार तीन छक्का प्रहार गरे । उनले ५३ बलमा शतक पूरा गरे भने बोपाराले ४२ बलमा ५३ रन जोडे ।
मिशाराले कर्णाली याक्सका मार्क वाटको नाममा रहेको एनपीएलको उच्च व्यक्तिगत स्कोरको कीर्तिमान तोडे । वाटले गत सिजन लुम्बिनी लायन्सविरुद्ध अविजित ११४ रन बनाएका थिए । मिशारा एनपीएलमा शतक बनाउने पाँचौँ खेलाडी हुन् ।
काठमान्डुका करण केसी र राशिद खानले समान दुई विकेट लिए ।





