काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुसमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमार्फत विश्व राजनीतिबारे नेपालको धारणा प्रभावकारी रूपमा प्रस्तुत गरेको बताएका छन् ।
अखिल रुसी राजनीतिक दलको आयोजनामा भएको ‘फर द फ्रिडम अफ नेसन्स’ विषयक विश्व सम्मेलनमा सहभागी भएर बिहीवार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
दाहालले सम्मेलनमा ७६ देशका राजनीतिक दलका अध्यक्ष, नेता, पूर्व मन्त्री तथा पूर्वप्रधानमन्त्रीहरूको सहभागिता रहेको उल्लेख गर्दै आफूले दुई पटक सम्बोधन गरेको जानकारी दिए। पहिलो सम्बोधनमा नेपालको राजनीतिक अवस्थाबारे र दोस्रो सम्बोधनमा विश्व परिस्थिति तथा अन्तर्राष्ट्रिय राजनीतिबारे पार्टी र नेपालको धारणा प्रस्तुत गरेको उनले बताए । विश्वमा बढ्दै गएको युद्ध र तनाव, ब्रिक्सको भूमिका, बहुध्रुवीय विश्व व्यवस्थाको विकास, प्यालेस्टाइन र युक्रेनको अवस्थालगायत विषयमा नेपालको दृष्टिकोण स्पष्ट पारेको उनको भनाइ छ ।
उनले सम्मेलनमा सहभागी विभिन्न देशका प्रतिनिधिहरूले नेपालको धारणा र आफ्नो सम्बोधनप्रति सकारात्मक प्रतिक्रिया दिएको पनि बताए। कतिपय प्रतिनिधि सम्बोधनपछि आफूलाई भेट्न आएको र अंकमाल गर्दै प्रशंसा गरेको उनले उल्लेख गरे। दाहालले सम्मेलनमा आयोजकले आफूलाई विशेष महत्त्व दिएको भन्दै त्यसलाई नेपालको राष्ट्रिय प्रतिष्ठा र कम्युनिस्ट आन्दोलनको अन्तर्राष्ट्रिय पहिचानसँग जोडे ।
दाहालले भने ‘७६ देशका राजनीतिक दलका नेता, अध्यक्ष, पूर्व मन्त्री तथा प्रधानमन्त्रीहरूको सहभागिता रहेको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने अवसर प्राप्त भयो । सम्मेलनमा मैले नेपालको वर्तमान अवस्था, विश्व परिस्थिति, बहुध्रुवीय विश्व व्यवस्था, प्यालेस्टाइन र युक्रेनलगायतका विषयमा नेपालको तथा हाम्रो पार्टीको धारणा स्पष्ट रूपमा राखेँ । सम्मेलनमा हाम्रो पार्टी र नेपालको प्रतिनिधित्वलाई विशेष महत्त्व दिइएको थियो । सहभागी नेताहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भयो । यसले नेपालको राष्ट्रिय गरिमा, हाम्रो पार्टी र कम्युनिस्ट आन्दोलनको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाउन महत्त्वपूर्ण योगदान गरेको मैले महसुस गरेको छु । समग्रमा, सम्मेलन मैले अपेक्षा गरेभन्दा निकै उपलब्धिमूलक र प्रभावकारी रह्यो । आगामी दिनमा यसलाई अझ सुदृढ बनाउन हामी सबैले पहल गर्नुपर्छ ।’
सम्मेलनको उद्घाटन सत्रमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको लिखित मन्तव्य प्रस्तुत गरिएको थियो । चीन भ्रमणका कारण पुटिन सहभागी हुन नसके पनि उनीसँग सम्बन्धित युनाइटेड रसिया पार्टीका अध्यक्षले मुख्य सम्बोधन गरेको दाहालले जानकारी दिए। नेपालबाट आफ्नो पार्टीलाई मात्रै निमन्त्रणा गरिएको र आयोजकले दिएको सम्मानले दुई देशका राजनीतिक दलबीच सम्बन्ध विस्तारको अवसर सिर्जना गरेको उनको भनाइ छ । उक्त सम्बन्धलाई आगामी दिनमा थप मजबुत बनाउनुपर्नेमा उनले जोड दिए ।





