काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन दिवसका अवसरमा प्रकाशन गर्ने ‘निर्वाचन स्मारिका’का लागि लेखरचना मागेको छ। आयोगको सूचनाअनुसार इच्छुक लेखकले २०८३ पुस २० गतेभित्र इमेलमा लेख पठाउन सक्नेछन्।
आयोगले २०८३ फागुन ७ गते मनाइने निर्वाचन दिवसका अवसरमा स्मारिका प्रकाशन गर्न लागेको हो। त्यसका लागि लोकतन्त्र, निर्वाचन प्रणाली, निर्वाचनमा समावेशिता तथा निर्वाचन सञ्चालन र व्यवस्थापनसँग सम्बन्धित विचारमूलक, अनुसन्धानमूलक, विश्लेषणात्मक वा तथ्यमूलक लेख मागिएको छ।
आयोगले विचारमूलक तथा अनुसन्धानमूलक वा तथ्यमूलक लेखका लागि ३ हजारदेखि ४ हजार ५ सय शब्दको सीमा तोकेको छ। विचारमूलक लेखमा शीर्षक, लेखसार, बढीमा पाँच मुख्य शब्द, पृष्ठभूमि, विश्लेषण, निष्कर्ष र सन्दर्भ सामग्री समावेश गर्नुपर्नेछ। अनुसन्धानमूलक वा तथ्यमूलक लेखमा अध्ययनको उद्देश्य, सम्बन्धित साहित्यको पुनरवलोकन, अध्ययन विधि, तथ्यको प्रस्तुति तथा नतिजाको विश्लेषण पनि समेट्नुपर्नेछ।
नेपाली लेख कालीमाटी फन्टमा र अंग्रेजी लेख टाइम्स न्यु रोमन फन्टमा १२ प्वाइन्ट आकारमा टाइप गरी डक्स ढाँचामा पठाउनुपर्नेछ। पीडीएफमा पठाइएका लेख स्वत: अस्वीकृत हुनेछन्। लेखसँगै लेखकले नामथर, आबद्ध संस्था, पद, इमेल र सम्पर्क नम्बरसहितको संक्षिप्त परिचय पठाउनुपर्नेछ।
लेख मौलिक हुनुपर्ने र कृत्रिम बुद्धिमत्ता (एआई) बाट तयार गरिएका रचना प्रारम्भिक चरणमै अस्वीकृत हुने आयोगले जनाएको छ। अन्यत्र प्रकाशित लेख पठाउन पाइने छैन। समयानुकूल संशोधन गरिएको सामग्री भने प्रकाशनका लागि विचार गर्न सकिने सूचनामा उल्लेख छ।
प्रकाशनको अन्तिम निर्णय सम्पादक मण्डलले गर्नेछ। स्मारिकामा प्रकाशित लेखका लागि लेखकलाई नेपाल सरकारको स्वीकृत मापदण्डअनुसार पारिश्रमिक दिइने आयोगले जनाएको छ।





