काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह र प्रदेशको निर्वाचन एकैपटक गर्ने कि छुट्टाछुट्टै भन्ने विषयमा छलफलपछि आधिकारिक धारणा तय गर्ने भएको छ।
स्थानीय तहको निर्वाचन तयारीबारे छलफल गर्न निर्वाचन आयोग पुगेका रास्वपा प्रवक्ता जगदीश खरेलले दुवै विकल्पका फाइदा र बेफाइदा केलाएर मात्रै निष्कर्षमा पुग्नुपर्ने बताए।
आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस विषयमा आजदेखि औपचारिक छलफल सुरु भएको जानकारी दिए।
खरेलका अनुसार बैठकमा आयोगले निर्वाचनको वर्तमान अवस्था र त्यसका विभिन्न पक्षबारे आफ्नो धारणा राख्नेछ। राजनीतिक दलहरूले पनि आ-आफ्ना विचार प्रस्तुत गर्नेछन्।
आजको छलफलबाटै अन्तिम निष्कर्षमा नपुगिने बताउँदै खरेलले आवश्यक परे सरकार, निर्वाचन आयोग, राजनीतिक दल र अन्य सरोकारवालाबीच थप छलफल हुने बताए।





