काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा बाराका प्राथमिक तहका शिक्षक धर्मेन्द्र प्रसाद यादवविरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ।
यादव बाराको सुवर्ण गाउँपालिका-६ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, मझरियामा कार्यरत छन्। शिक्षण पेसामा प्रवेश गर्दा उनले बुझाएको शैक्षिक प्रमाणपत्र नक्कली भएको उजुरी परेपछि आयोगले अनुसन्धान गरेको थियो।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार यादवले भारतको पटनास्थित बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिलबाट जारी भएको देखिने इन्टरमिडिएट (आईए) तहका नक्कली प्रमाणपत्र पेस गरी प्राथमिक तहको शिक्षक पदमा रही सेवा सुविधा लिएको आरोप छ।
आयोगले मंसिर ४ गते दायर गरेको आरोप पत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना माग गरेको छ।





