काठमाडौँ । सिरियाली राष्ट्रिय ध्वजावाहक एयरलाइन्सले दमास्कस–अलेप्पो र अलेप्पो–मस्को हवाई सेवा शुरु गरेको छ । सन् २०२४ डिसेम्बरमा तत्कालीन सिरियाली सरकारको पतनपछि पहिलोपटक बुधबार दमास्कसबाट अलेप्पोका लागि नियमित आन्तरिक उडान सञ्चालन गरिएको हो ।
सिरियाको नागरिक उड्डयन तथा हवाई यातायात महानिर्देशनालयका सञ्चार निर्देशक मुस्तफा खैरल्लाहकाअनुसार दमास्कस अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको सिरियाली एयरलाइन्सको पहिलो विमान अलेप्पो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । उनले यसअघि नै देइर अल–जोरका लागि आन्तरिक उडान शुरु भइसकेको र अब अलेप्पो पनि दोस्रो आन्तरिक गन्तव्य बनेको जानकारी दिए । उनका अनुसार चाँडै कमिश्लीका लागि समेत उडान सञ्चालन गर्ने तयारी छ । दमास्कस–अलेप्पो हवाई सेवा सातामा एकपटक सञ्चालन हुनेछ ।
यसैबीच, सिरियाली एयरलाइन्सले बुधबार नै अलेप्पोबाट रुसको राजधानी मस्कोका लागि पनि उडान सुरु गरेको छ । सन् २०२४ डिसेम्बरपछि अलेप्पो–मस्को मार्गमा पहिलोपटक हवाई सेवा सञ्चालन गरिएको हो । नयाँ हवाई सेवाले सिरियाको आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्क पुन:स्थापित गर्ने प्रयासलाई अघि बढाएको छ ।





