काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले निर्वाचनलाई कम खर्चिलो बनाउन मतदाताले आफू बसेकै स्थानबाट आफ्नो गृह जिल्लामा मतदान गर्न पाउने व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।
शनिवार पार्टीको प्रथम स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै घिसिङले निर्वाचनका दिन आफ्नो स्थायी जिल्लामा पुगेर मतदान गर्नुपर्ने बाध्यताले उम्मेदवार र मतदाता दुवैको खर्च बढाएको बताएका हुन् । उनले काठमाडौँमा बसेर डडेलधुराको मतदान गर्न पाउने व्यवस्था भए निर्वाचनमा हुने अनावश्यक यातायात खर्च कम हुने बताए । निर्वाचन प्रणालीलाई सहज र कम खर्चिलो बनाउन बेजिल्लाबाट मतदान गर्न पाउने व्यवस्था स्पष्ट गर्नुपर्ने उनको माग छ ।
घिसिङले विदेशमा रहेका नेपालीलाई पनि मतदानको अधिकार दिनुपर्ने बताए । विदेशमा रहेका सम्पूर्ण नेपालीले स्थानीय तहको निर्वाचनदेखि नै मतदान गर्न पाउने व्यवस्था सरकारले तत्काल लागू गर्नुपर्ने उनको जोड दिए । यसैगरी, स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गर्नुपर्ने माग पनि उनले उठाए ।
उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी दुवैले आफ्नो प्रतिबद्धतामा गैरदलीय स्थानीय निर्वाचनको विषय समेटेको उल्लेख गर्दै उनले आवश्यक ऐन संशोधन गरेर भए पनि त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताए । यस विषयमा आफूहरूले निर्वाचन आयोगमा ज्ञापनपत्र समेत बुझाएको उनले जानकारी दिए । प्रतिबद्धता कार्यान्वयन नभए पनि निर्वाचनमा सहभागी नहुने वा उम्मेदवारी नदिने भन्ने पार्टीको धारणा नरहेको उनले स्पष्ट पारे ।





