काठमाडौँ । चीनमा पखेटाविहीन उड्ने कारको पहिलो परीक्षण उडान सफल भएको छ ।
मध्य चीनको हुनान प्रान्तस्थित चाङ्सामा शनिवार उक्त उड्ने कारको प्रोटोटाइपले पहिलो पटक उडान भरेको हो । विशेष प्रविधिमा आधारित उक्त उड्ने कारमा मल्टी–स्टेज थ्रस्ट भेक्टरिङ डक्टेड फ्यान प्रणाली प्रयोग गरिएको छ । यसमा उडानका लागि आवश्यक सबै प्रोपल्सन युनिटलाई बाहिरी आवरणभित्रै राखिएको छ ।
परम्परागत विमानमा जस्तो छुट्टै पखेटा नरहेको यो कार व्यक्तिगत हवाई यातायातका लागि नयाँ अवधारणाका रूपमा प्रस्तुत गरिएको छ । एक जना मात्र यात्रु बस्न मिल्ने उक्त प्रोटोटाइपको अधिकतम उडान भार क्षमता २८० किलोग्राम रहेको छ भने यसले १२० किलोग्रामसम्म भार बोक्न सक्छ । यस प्रविधिले भविष्यमा व्यक्तिगत हवाई यातायातको क्षेत्रमा नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ ।






