काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सुनकोशी-मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द हुँदा किसानले बेहोर्नुपरेको क्षतिको विस्तृत अध्ययन गर्न सार्वजनिक लेखा समितिसँग माग गरेका छन् ।
आयोजनाको ठेक्का रद्द गरिएको विषयमा सार्वजनिक लेखा समितिमा भएको छलफलमा झाले राज्यकोषमा परेको आर्थिक नोक्सानीमा मात्र अध्ययन सीमित गर्न नहुने बताएका हुन् । आयोजना निर्माणमा भएको ढिलाइका कारण सिँचाइ सुविधाबाट वञ्चित किसानले गुमाएको उत्पादन र आम्दानीलाई समेत क्षति मुल्यांकनको आधार बनाउनुपर्ने उनको भनाइ छ ।
आयोजनामार्फत एक लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा उपलब्ध भएको अवस्थामा हुन सक्ने कृषि उत्पादन र त्यसबाट किसानले प्राप्त गर्ने आर्थिक लाभको अध्ययन गर्नुपर्ने उनले बताए । आयोजना रोकिएका कारण विगतमा प्रभावित खेती तथा आगामी दिनमा सिँचाइ अभावबाट हुन सक्ने क्षतिको समेत हिसाब निकाल्नुपर्नेमा उनले जोड दिए ।
‘सरकारको राजश्वमा कति नोक्सानी भयो भन्ने कुरा मात्र हामीले हिसाब गरेर हुँदैन । यसको वास्तविक लागत त किसानले आफ्नो खेतीमार्फत व्यहोरिरहेका छन् । उनीहरूले व्यहोरेको क्षतिको हिसाबकिताब कसले गरिदिने ?’ झाले भने ।
२०८२ कात्तिक २५ गते ठेक्का रद्द गरिएको प्रसंग उठाउँदै झाले निर्माण कार्य अघि बढिसकेको र सुरुङ छिचोल्ने कामसमेत सम्पन्न भइसकेको आयोजनामा विधि तथा प्रक्रिया परिवर्तन गर्नुको कारण खोज्नुपर्ने बताए ।
आयोजना रोक्ने निर्णयमा राजनीतिक पूर्वाग्रह थियो वा थिएन भन्ने विषयमा समेत निष्पक्ष छानबिन गर्न उनले माग गरे । भविष्यमा राजनीतिक पूर्वाग्रहका आधारमा राष्ट्रिय महत्त्वका आयोजना रोक्ने वा रद्द गर्ने अवस्था आउन नदिन निर्णय प्रक्रियाको गम्भीर समीक्षा आवश्यक रहेको उनको भनाइ छ ।
समितिका सभापति भरतबहादुर खड्काले आयोजनासम्बन्धी थप अध्ययन तथा छानबिनका लागि आवश्यक कागजात सात दिनभित्र उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।
उक्त निर्देशनप्रति सैद्धान्तिक सहमति जनाउँदै झाले छानबिनको दायरामा किसानले बेहोरेको क्षतिसमेत समेट्नुपर्ने र त्यसको विस्तृत अध्ययन गर्ने जिम्मेवारी सार्वजनिक लेखा समितिले लिनुपर्ने बताए ।






