काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरयू-कमला एक्सप्रेस रेल सेवाको सञ्चालनले नेपाल र भारतबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई नयाँ आयाम दिने बताएका छन् ।
सरयू-कमला एक्सप्रेस जनकपुरधाम आइपुगेको अवसरमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले रेल सेवा सञ्चालन भएको दिन जनकपुरधामका लागि ऐतिहासिक भएको बताए ।
‘आज हामी केवल एउटा रेलगाडीको स्वागत मात्र गरिरहेका छैनौँ, बरु दुवै देशको साझा इतिहास, साझा संस्कृति र जनस्तरको आत्मीय सम्बन्धको नयाँ यात्राको समेत स्वागत गरिरहेका छौँ,’ उनले भने ।
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा मङ्सिर ७ गते शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उक्त रेल सेवाको शुभारम्भ गरेका थिए ।
मन्त्री यादवले अयोध्या र जनकपुरधामबीचको सम्बन्ध दुई सहरमा मात्र सीमित नभई पारिवारिक तथा धार्मिक आस्थासँग जोडिएको बताए ।
‘अयोध्यामा रामको मर्यादा, जनकपुरमा जानकीको गरिमा– यी दुवैको सम्बन्ध नेपाल–भारत मैत्रीको नयाँ इतिहास लेखिरहेको छ,’ उनले भने ।
यसै महिनाको अन्त्यमा आयोजना हुने विवाह पञ्चमी महोत्सवमा अयोध्याबाट आउने श्रद्धालुलाई रेल सेवाले सहजता प्रदान गर्ने मन्त्री यादवको भनाइ छ ।
रेल सेवाको उद्घाटनका क्रममा प्रधानमन्त्री शाहले राम–जानकीको युगौँ पुरानो सम्बन्धलाई नयाँ पुस्ताका लागि विकास र साझेदारीको अवसरमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएको उनले स्मरण गरे ।
भारतीय प्रधानमन्त्री मोदीको ‘नेपालबिना हाम्रा धाम अधुरा छन्, नेपालबिना हाम्रा राम पनि अधुरा छन्,’ भन्ने अभिव्यक्ति उल्लेख गर्दै मन्त्री यादवले त्यसले अयोध्या र जनकपुरधामबीचको गहिरो सम्बन्ध झल्काएको बताए । सरयू–कमला एक्सप्रेसमार्फत उक्त सम्बन्धले नयाँ आयाम पाउने विश्वास प्रधानमन्त्री मोदीले व्यक्त गरेको उनले जानकारी दिए ।
मन्त्री यादवले रेल सेवा सञ्चालनको पहलका लागि दुवै देशका प्रधानमन्त्री, सरकार, भारतको रेल मन्त्रालय, नेपालको पूर्वाधार विकास मन्त्रालय तथा सम्बद्ध सबै निकायप्रति आभार व्यक्त गरे ।






