काठमाडौँ । राइजिङ स्टार्स एसिया कप क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।
मङ्गलबार पाकिस्तानले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ७२ रनमै समेटियो । नेपालका लागि ओपनर मयन यादवले ५० बलमा सर्वाधिक ४१ रन बनाए । उनी अन्तिम विकेटका रूपमा आउट भएका थिए ।
बसिर अहमदले ११ रन जोड्दा अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपालका ६ ब्याटर खाता नखोली आउट भए ।
पाकिस्तानका मोहम्मद हस्नेन र सुफ्या मोकिमले समान तीन-तीन विकेट लिए । इमरान रान्धवाले दुई तथा माज सदाकतले एक विकेट हात पारे ।
यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानलाई नेपालले ४२ ओभरमा १६८ रनमा समेटेको थियो । पाकिस्तानका लागि रोहेल नाजिरले ८३ बलमा अविजित ६४ रन बनाए । हसन नवाजले २८, अहमद दनियालले १६, हेदर अलीले १५ तथा माज सदाकत र अब्दुल समदले समान १३ रन जोडे ।
नेपालका रासिद खानले आठ ओभरमा ३९ रन खर्चेर पाँच विकेट लिएका थिए । लिस्ट ‘ए’ क्रिकेटमा उनको यो पहिलो पाँच विकेटको प्रदर्शन हो । लिस्ट ‘ए’ क्रिकेटमा पदार्पण गरेका अभिशेष गौतमले दुई तथा कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान एक–एक विकेट लिए ।
समूह चरणको पहिलो खेलमा भारतसँग ३०६ रनले पराजित भएको नेपालले दोस्रो खेलमा यूएईलाई हराएको थियो । तीनमध्ये एक खेलमा मात्र जित हासिल गरेको नेपालको प्रतियोगिताको यात्रा समूह चरणमै टुङ्गिएको हो ।
समूह ‘बी’का तीनवटै खेलमा जित हासिल गरेको पाकिस्तान समूह विजेता तथा भारत उपविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेका छन् ।






