८ मंसिर २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामान्य प्रशासन मन्त्रालय : विगतका विकृति, वर्तमानका सुधार र प्रणालीगत परिवर्तनको खोजी

कर्मचारी सरुवामा आर्थिक चलखेल, बिचौलियाको प्रभाव र राजनीतिक हस्तक्षेपदेखि वर्तमानका सुधार प्रयास, न्यायपूर्ण कर्मचारी व्यवस्थापन र दिगो सुशासनको आवश्यकतासम्म ।

अ अ+ अ-

सिँहदरवार, काठमाडौँ । सरकार परिवर्तनसँगै राज्य सञ्चालनको कार्यशैलीमा कति परिवर्तन आउँछ ? विगतका सरकारहरूले गरेका काम र वर्तमान सरकारले गरिरहेका कामबीच के-कति भिन्नता छ ? विगतका गलत अभ्यासहरू अहिले पनि निरन्तर छन् वा तिनमा सुधार आएको छ ? सुधार भएका क्षेत्रमा त्यसलाई कसरी संस्थागत गर्न सकिन्छ र सुधार हुन बाँकी विषयमा नेतृत्वले के गर्नुपर्छ ? यिनै प्रश्नको उत्तर खोज्ने उद्देश्यले प्रशासन डटकम सिँहदरवार बिशेष ब्युरो टिमले ‘पहिले र अहिले’ विशेष शृङ्खला प्रारम्भ गरेको छ ।

यो शृङ्खला सुरु गर्नुको मूल उद्देश्य वर्तमान सरकार र मन्त्रीहरूलाई विगतमा भएका गलत काम तथा अभ्यासहरूको पुन:स्मरण गराउनु र त्यस्ता काम पुन: नदोहोर्‍याउन सचेत गराउनु हो । सँगसँगै सरकारले गरेका राम्रा कामलाई नागरिकसम्म पुर्‍याउनु, सुधारका सम्भावना पहिल्याउनु र थप सुधारका लागि रचनात्मक खबरदारी गर्नु पनि यसको उद्देश्य हो ।

यसअन्तर्गत क्रमश: सबै मन्त्रालयका कामकारबाही, निर्णय प्रक्रिया, नेतृत्वको कार्यशैली, सार्वजनिक स्रोतको परिचालन र सुशासनको अवस्थाको तुलनात्मक अध्ययन तथा विश्लेषण गरिनेछ । प्रशासनिक अभ्यासलाई नजिकबाट नियालेका तथा भोगेका व्यक्तिहरूको अनुभव, आधिकारिक प्रतिवेदन, उपलब्ध तथ्य, अभिलेख र सञ्चारमाध्यममा प्रकाशित सामग्री यस शृङ्खलाका आधार हुनेछन् ।

पहिलो अंकमा भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विगत र वर्तमानको कार्यशैलीलाई भुक्तभोगीका अनुभव तथा सार्वजनिक अभिलेखका आधारमा संश्लेषण गरिएको छ ।

पहिले : विकृति र विसङ्गतिका अभ्यास
नेपाली काँग्रेस, नेकपा (एमाले), माओवादी, मधेसवादी दल तथा राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरूको एकल वा संयुक्त सरकारका विभिन्न कालखण्डमा तत्कालिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यशैली कस्तो थियो भन्ने विषयमा भुक्तभोगीका अनुभवले अनेकौँ प्रश्न उठाएका छन् ।

यद्यपि, यसमा केही सकारात्मक अपवाद पनि छन् । विकृत अभ्यासका बीचमा पनि इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्ने राजनीतिक तथा प्रशासनिक नेतृत्व थिए । प्रतिकूल परिस्थितिमा समेत आफ्नो पेसागत निष्ठा र मर्यादा जोगाएर काम गर्ने कर्मचारी थिए । त्यसैले सबै नेतृत्व, पदाधिकारी र कर्मचारीलाई एउटै दृष्टिकोणबाट मूल्यांकन गर्नु न्यायोचित हुँदैन ।

कर्मचारी सरुवा : प्रशासनिक आवश्यकताभन्दा आर्थिक स्वार्थ
महत्त्वपूर्ण विभाग, कार्यालय, शाखा वा जिम्मेवारीमा कर्मचारीको सरुवा तथा पदस्थापन गर्दा मन्त्रीको सचिवालय, ट्रेड युनियनसम्बद्ध कर्मचारी र बिचौलियामार्फत ठूलो रकम लेनदेन हुने गरेको भुक्तभोगीहरूको अनुभव छ ।

बिचौलिया वा मन्त्रीको सचिवालयका व्यक्तिलाई रकम नबुझाई काम गर्न कठिन हुने र त्यस्ता व्यक्तिहरूले मन्त्री तथा प्रधानमन्त्री तहसम्मको राजनीतिक संरक्षण पाउने गरेको उनीहरूको दाबी छ ।

ट्रेड युनियनसम्बद्ध कतिपय कर्मचारी वर्षौँदेखि तथाकथित राम्रा मानिएका स्थानमा रहने र त्यहाँबाट हुने अनुचित आम्दानीको हिस्सा तल्लो तहदेखि माथिल्लो तह हुँदै राजनीतिक दलसम्म पुग्ने गरेको आरोपसमेत छ । राम्रा भनिएका विभाग, निकाय, कार्यालय वा शाखाबाट मासिक रूपमा रकम उठाउने र त्यसको बाँडफाँट गर्ने अभ्यास रहेको पनि भुक्तभोगीहरू बताउँछन् ।

यी अनुभवका कतिपय पक्ष केही महिना तथा वर्ष अघि मात्रै राष्ट्रिय सञ्चारमाध्यममा उठेका विषयसँग पनि मेल खान्छन् ।

प्रशासन डटकमले २०८१ भदौ १८ गते प्रकाशित ‘सामान्यको गुपचुप सरुवाले कर्मचारी हैरान १’, भदौ २६ गते प्रकाशित ‘सामान्यमा अपारदर्शी सरुवा ‘खेती’ फस्टाउँदो, सार्वजनिक गरिँदैनन् सूची’ र असोज २ गते प्रकाशित ‘उपसचिव र अधिकृतसहित तीन सय बढी कर्मचारीको सरुवा, सूची गुपचुप’ शीर्षकका समाचारमा कर्मचारी सरुवामा देखिएका अपारदर्शी अभ्यासलाई उजागर गरेको थियो ।

सोही समय नागरिक दैनिकले २०८१ असोज ६ गते प्रकाशित ‘कर्मचारी सरुवामा हाबी पैसा र बिचौलिया’ शीर्षकको समाचारमा आकर्षक मानिएका कार्यालयमा कर्मचारी सरुवा गर्दा राजनीतिक पहुँच, भनसुन, आर्थिक लेनदेन र बिचौलियाको प्रभाव रहेको विषय उठाएको थियो । तत्कालीन मन्त्रालयका प्रवक्ताले भने बाहिर चर्चा भएजस्तो बेथिति नरहेको र सरुवा व्यवस्थित गर्ने प्रयास भइरहेको प्रतिक्रिया दिएका थिए ।

त्यसअघि कान्तिपुर दैनिकले २०२३ फेब्रुअरी १६ मा प्रकाशित ‘अतिक्रमणले कर्मचारी प्रशासनमा बेथिति’ शीर्षकको समाचारमा कर्मचारी व्यवस्थापनसम्बन्धी कानुनी व्यवस्थाविपरीत भएका सरुवा, काज तथा निमित्त जिम्मेवारीका कारण प्रशासनमा देखिएको बेथितिको विषय उठाएको थियो ।

प्रशासन डटकमले २०८० फागुनमा प्रकाशित ‘सेटिङ’मा गर्न खोजिएको १४ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा घर्रामा !’ शीर्षकको समाचारमा निमित्त सचिवमार्फत गर्न खोजिएको विवादित सरुवाको विषय सार्वजनिक गरेको थियो । त्यसपछि निमित्त सचिवले गरेको १४ उपसचिवको सरुवा बदर गरी नौ जनाको पुन: सरुवा गरिएको समाचारसमेत प्रकाशित भएको थियो ।

एकातिर स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अभाव भइरहने, अर्कोतिर सिंहदरबार र सुविधाजनक कार्यालय छाड्न कर्मचारी तयार नहुने अवस्थाले कर्मचारी व्यवस्थापनमा विद्यमान असन्तुलनलाई देखाउँथ्यो ।

सरुवा कर्मचारी व्यवस्थापनको नियमित प्रशासनिक प्रक्रिया हो । तर यही प्रक्रियामा आर्थिक लाभ, राजनीतिक संरक्षण र व्यक्तिगत स्वार्थ हाबी हुँदा कर्मचारी प्रशासनको व्यावसायिकता, निष्पक्षता र विश्वसनीयता कमजोर बन्न पुग्छ । इमानदार कर्मचारी निरुत्साहित हुने र अनुचित माध्यमबाट अवसर खोज्नेहरू प्रोत्साहित हुने अवस्था सिर्जना हुन्छ ।

स्थानीय तह : निमित्तको भरमा प्रशासन र सरुवाको दररेट
विगतमा उल्लेख्य सङ्ख्यामा स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन हुने गरेका थिए । भुक्तभोगीहरूले कतिपय समयमा यस्तो सङ्ख्या ४० देखि ५० प्रतिशतसम्म पुगेको अनुभव सुनाएका छन् ।

महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनमा समेत प्रमुख प्रशासकीय अधिकृतको खटनपटनमा देखिएको समस्या औँल्याइएको थियो । यसअघि सार्वजनिक विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा एक हजार ४१७ कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको, ११ कर्मचारीलाई एक वर्षमै दुईभन्दा बढी स्थानीय तहमा खटाइएको र ३१६ स्थानीय तहमा निमित्तका रूपमा कामकाज गर्ने गरी कर्मचारी खटाइएको थियो ।

भुक्तभोगीहरूका अनुसार निमित्तको जिम्मेवारी दिँदा मन्त्री, स्थानीय तहका प्रमुख, सम्बन्धित क्षेत्रका सांसद, मन्त्रालयको प्रशासनिक नेतृत्व तथा बिचौलियाबीच निश्चित रकम लिनेदिने अभ्यास रहेको र त्यसको सहजीकरण ट्रेड युनियनसम्बद्ध कतिपय कर्मचारीले गर्ने गरेका थिए ।

विशेषगरी काठमाडौँ उपत्यका, तराई तथा आन्तरिक आम्दानी राम्रो भएका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउँदा निश्चित दररेट कायम गर्ने र सोहीअनुसार आर्थिक कारोबार भएपछि मात्रै सरुवा हुने गरेको उनीहरूको दाबी छ । यस प्रक्रियामा मन्त्रीको निजी सचिवालयसमेत प्रत्यक्ष संलग्न रहने गरेको उनीहरू बताउँछन् ।

प्रमुख प्रशासकीय अधिकृत खटाउने स्पष्ट मापदण्ड निर्माण गर्न नसकिएको विषय प्रशासन डटकमले विभिन्न समयमा उठाएको थियो । २०८० चैत २ गते प्रकाशित ‘मापदण्ड बनाएर मात्र सरुवा गर्ने सोचमा मन्त्री जोशी, तत्काल पेश गर्न सचिवलाई निर्देशन’ शीर्षकको समाचारमा अघिल्ला मन्त्रीका पालामा समेत मापदण्ड निर्माणको तयारी भए पनि त्यसले पूर्णता पाउन नसकेको विषय उल्लेख थियो ।

यसअघि अनलाइनखबरले २०८० पुसमा प्रकाशित ‘स्थानीय तहमा पहुँचकै आधारमा सरुवा, छैन मापदण्ड’ शीर्षकको समाचारमा राजनीतिक पहुँचका आधारमा कतिपय कर्मचारी वर्षौँसम्म एउटै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत भएर बसिरहेको र स्थानीय तहले आफूअनुकूलका कर्मचारी खोज्ने प्रवृत्ति बढेको विषय उठाएको थियो ।

त्यसैगरी कान्तिपुर दैनिकले २०८१ असार २८ गते प्रकाशित ‘कर्मचारी सरुवामा बेथिति रोक्न मापदण्ड ल्याइँदै’ शीर्षकको समाचारमा सरुवा, काज तथा कामकाजसम्बन्धी मापदण्डको मस्यौदा तयार गरिएको र अनियमित सरुवा रोक्ने प्रयास भइरहेको उल्लेख गरेको थियो । अनलाइनखबरले पनि मापदण्ड नबनेसम्म कर्मचारी सरुवामा रोक लगाइएको विषय सार्वजनिक गरेको थियो ।

प्रशासन डटकमले २०८१ फागुन ७ गते प्रकाशित ‘खटाएको पालिकामा प्रमुख प्रशासकीय अधिकृत जान नमान्दा निमित्तकै भरथेग, जनप्रतिनिधि भन्छन्– हामी आजित भयौँ’ शीर्षकको समाचारमा कर्मचारी खटनपटनप्रति स्थानीय जनप्रतिनिधिको असन्तुष्टि र त्यसबाट सेवा प्रवाहमा उत्पन्न समस्या उजागर गरेको थियो ।

प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारीमा पठाउने, स्थानीय जनप्रतिनिधिले हाजिर नगराउने, आफूअनुकूल कर्मचारीलाई निमित्त बनाउने र पुन: अर्को अधिकृत पठाउने चक्रले स्थानीय तहको संस्थागत विकासमा असर पारिरहेको थियो ।

आर्थिक अधिकार प्रयोग गर्ने प्रशासनिक नेतृत्वलाई आफूअनुकूल बनाउने चाहनाले स्थानीय सरकारको वित्तीय अनुशासन, जवाफदेहिता र सेवा प्रवाहलाई समेत प्रभावित गर्ने जोखिम रहन्छ ।

ट्रेड युनियन : पेसागत अधिकारदेखि समानान्तर शक्ति केन्द्रसम्म
ट्रेड युनियनको मूल उद्देश्य कर्मचारीको पेसागत हकहितको संरक्षण हो । तर निजामती प्रशासनमा कतिपय दलीय कर्मचारी संगठनले आफ्नो पेसागत भूमिकाको सीमा नाघेर प्रशासनिक निर्णयमा हस्तक्षेप गर्ने शक्ति केन्द्रका रूपमा आफूलाई स्थापित गरेको आरोप विगतदेखि लाग्दै आएको हो ।

भुक्तभोगीका अनुसार ट्रेड युनियनका ठूलो सङ्ख्याका पदाधिकारी मन्त्रालयमा काज वा पुल दरबन्दीमा रहन्थे । उनीहरूमध्ये कतिपयले नियमित कार्यकक्षमा बसेर काम गर्नुपर्दैनथ्यो । तर कर्मचारीको तह र जिम्मेवारीसँग मेल नखाने गरी वैदेशिक भ्रमण, काजभत्ता, चारपाङ्ग्रे सवारीसाधन, इन्धन तथा मर्मतलगायतका सुविधा प्राप्त गर्ने गरेको गुनासो मात्रै होइन, त्यही नै वास्तविकता पनि थियो ।

सरुवा, बढुवा, पदस्थापन र मनोनयनका विषयमा प्रधानमन्त्री तथा मन्त्रीको नाम लिएर सचिवहरूमाथि दबाब सिर्जना गर्ने, सरुवाको सूची निर्माणमा आफ्नो हिस्सा खोज्ने र आर्थिक स्रोत संकलन गर्ने अभ्यास रहेको समेत नयाँ होइन ।

त्यसरी संकलित रकमबाट राजनीतिक दलका कतिपय प्रभावशाली व्यक्तिको समर्थन प्राप्त गर्ने, उनीहरूको भान्सादेखि अन्य व्यक्तिगत आवश्यकतासम्म पूरा गरिदिने गरेको भुक्तभोगीहरूको अनुभव छ । कतिपय अवस्थामा प्रधानमन्त्रीसम्म मन्त्री वा सचिवको भन्दा ट्रेड युनियनका पदाधिकारीको सहज पहुँच र आवतजावत हुने गरेकोसमेत सुनाइन्छ ।

प्रशासन डटकमले २०८० जेठमा प्रकाशित ‘सुशासनका लागि राजनीति र कर्मचारीतन्त्रमा शुद्धीकरण आवश्यक छ : मन्त्री मोदी’ शीर्षकको समाचारमा तत्कालीन मन्त्री अमनलाल मोदीले कर्मचारी सरुवामा आर्थिक लेनदेनको प्रमाण भेटिए कारबाही गर्ने र बिचौलियालाई मन्त्रालय प्रवेशमा रोक लगाउने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरेको थियो । यद्यपी उनी आफै पनि चरम बिबादित बने ।

त्यसअघि प्रशासन डटकममै प्रकाशित ‘सरुवामा अब भनसुन प्रवृत्ति अन्त्य गर्छौँ : मन्त्री मोदी’ शीर्षकको समाचारमा पनि मन्त्री मोदीले कर्मचारी सरुवामा भनसुन नचल्ने बताएका थिए । जबकी उनको कार्यकालमा मोलमोलाईबाटै आजित हुनुपरेको सुनाउने कर्मचारीको संख्या पनि कम छैन ।

अनलाइनखबरले २०७९ फागुनमा प्रकाशित ‘कर्मचारी नेताको आरोप : मन्त्रालयको कोठा–कोठाबाट सरुवाको दलाली हुन्छ’ शीर्षकको समाचारमा कर्मचारी संगठनकै नेतृत्वबाट मन्त्रालयभित्रको सरुवा प्रक्रियामाथि गम्भीर प्रश्न उठाइएको विषय सार्वजनिक गरेको थियो ।

नागरिकले तिरेको करबाट ट्रेड युनियनहरूलाई विभिन्न शीर्षकमा अनुदान उपलब्ध गराउने तथा आर्थिक सहायता र अन्य नगद अनुदानसमेत पहुँचका आधारमा प्राप्त गर्ने अभ्यास रहेको भुक्तभोगीहरूको आरोप छ ।

कर्मचारीको पेसागत हकहितको संरक्षण र राजनीतिक संरक्षणमा प्रशासनिक निर्णय प्रभावित गर्ने अभ्यासलाई एउटै दृष्टिकोणबाट हेर्न मिल्दैन । यी दुई विषयबीच स्पष्ट सीमा कोर्न नसक्दा निजामती प्रशासनको राजनीतिक तटस्थता र व्यावसायिकतामाथि प्रश्न उठेको हो ।

आयोजना तथा स्रोत विनियोजनमा राजनीतिक प्रभाव
मन्त्रालयअन्तर्गतका विभिन्न परियोजनाको स्रोत विनियोजनसमेत आवश्यकता र प्राथमिकताभन्दा मन्त्रीको निर्वाचन क्षेत्र वा राजनीतिक दलको मनोगत निर्णयका आधारमा हुने गरेको अनुभव सुनाइन्छ । तराई–मधेस समृद्धि कार्यक्रमलगायतका कार्यक्रमलाई भुक्तभोगीहरूले यस सन्दर्भमा उदाहरणका रूपमा प्रस्तुत गरेका छन् । जुन कार्यक्रम नागरिकमूखी भन्दा पनि राजनीतिक प्रेरित हिसावले ल्याइएको थियो ।

सार्वजनिक स्रोतको विनियोजन वस्तुगत आवश्यकता, स्पष्ट मापदण्ड र नागरिकको हितका आधारमा हुनुपर्नेमा राजनीतिक पहुँच र नेतृत्वको स्वार्थ प्रभावी हुने गरेको गुनासो रहँदै आएको छ ।

राज्यको स्रोत कुनै मन्त्री, सांसद वा राजनीतिक दलको निजी सम्पत्ति होइन । कुनै क्षेत्रले मन्त्री पाएकै कारण बढी बजेट पाउने र राजनीतिक पहुँच नभएका क्षेत्रले आवश्यक हुँदाहुँदै पनि बजेट नपाउने अवस्था सार्वजनिक स्रोतको न्यायोचित वितरणको सिद्धान्तविपरीत हुन्छ ।

यस्ता कार्यक्रमको वास्तविक मूल्यांकन गर्न आयोजना छनोटको आधार, स्थानीय आवश्यकताको अध्ययन, भौगोलिक वितरण, विनियोजित रकम र त्यसबाट प्राप्त उपलब्धिको तुलनात्मक परीक्षण आवश्यक हुन्छ ।

कर्मचारी सरुवामा सुधार देखिनु र सार्वजनिक स्रोतको वितरण न्यायोचित हुनु फरक विषय हुन् । दुवैमा समान रूपमा सुधार भए मात्रै मन्त्रालयको समग्र कार्यशैलीमा परिवर्तन आएको मान्न सकिने आधार तयार हुन्छ ।

राजनीतिक नियुक्ति : विज्ञताभन्दा निकटता
मन्त्रालयअन्तर्गत हुने राजनीतिक नियुक्तिमा सम्बन्धित विषयको विज्ञता र अनुभवभन्दा आर्थिक लेनदेन तथा राजनीतिक पहुँचलाई प्राथमिकता दिने गरिएको र त्यस्ता निर्णयले उच्च राजनीतिक नेतृत्वको समर्थनसमेत पाउने गरेको आरोप छ ।

तत्कालीन मन्त्री अमनलाल मोदीको कार्यकालमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको कार्यकारी प्रमुखमा कानुनलाल चौधरीको नियुक्तिलाई भुक्तभोगीहरूले उदाहरणका रूपमा प्रस्तुत गरेका छन् । फार्मेसी पृष्ठभूमि तथा मन्त्रीको स्वकीय सचिवका रूपमा काम गरेको भनिएका चौधरीको नियुक्तिमा सम्बन्धित विषयको विज्ञता र योग्यताको प्रश्न उठाइएको छ । उक्त नियुक्तिको वैधानिक आधार, योग्यता, अनुभव तथा निर्णय प्रक्रियाको स्वतन्त्र परीक्षणबाट पनि उक्त नियुक्तिको औचित्यता पुष्टि हुने छ ।

वैदेशिक मनोनयन, छात्रवृत्ति तथा अन्य आकर्षक सुविधा उपलब्ध गराउँदा पनि सम्बन्धित विषयका योग्य व्यक्तिभन्दा मन्त्रीका निकटस्थलाई प्राथमिकता दिइने र कर्मचारीको मनोनयनमा समेत आर्थिक मोलमोलाइ हुने गरेको भुक्तभोगीको अनुभव छ ।

राजनीतिक नियुक्तिको औचित्य सार्वजनिक संस्थालाई सक्षम नेतृत्व दिनु हो, राजनीतिक निकटता वा विगतमा गरेको व्यक्तिगत सेवाको पुरस्कार दिनु होइन ।

सार्वजनिक संस्थाको नेतृत्वमा पुग्ने व्यक्तिको योग्यता, अनुभव, नियुक्तिको आधार र उसबाट अपेक्षित उपलब्धि सार्वजनिक गर्ने अभ्यास बसाल्न सकिएमा राजनीतिक नियुक्तिको औचित्यमाथि उठ्ने धेरै प्रश्नको सम्बोधन हुन सक्छ ।

जिम्मेवारीको लिलाम बढाबढ र सार्वजनिक खरिद
मन्त्रालय तथा मातहतका निकायमा स्टोर, आयोजना प्रमुख वा विशेष जिम्मेवारीका पदमा समेत एक प्रकारको लिलाम बढाबढ हुने गरेको अनुभव छ । बढी रकम बुझाउने व्यक्ति जिम्मेवारीमा रहने र रकम नबुझाउने व्यक्ति जिम्मेवारीबाट हट्ने अवस्था रहेको भुक्तभोगीहरू बताउँछन् ।

खरिद तथा आपूर्तिमा निश्चित प्रतिशत रकम बुझाउनुपर्ने अलिखित नियमजस्तै अभ्यास रहेको, आवश्यकताभन्दा बढी बजेट विनियोजन गर्ने, कमसल सामग्री आपूर्ति गर्ने वा कतिपय अवस्थामा आपूर्ति नै नगरी भुक्तानी दिने र त्यसरी प्राप्त रकम विभिन्न तहमा बाँडफाँट हुने गरेको गम्भीर आरोप छ ।

कतिपय अवस्थामा आन्तरिक लेखापरीक्षण, महालेखा परीक्षकको कार्यालय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निगरानी निकायका सम्बन्धित पदाधिकारीलाई प्रभावमा पार्ने उद्देश्यले विशेष व्यवस्था गर्ने गरिएको दाबीसमेत छ । यी आरोप स्वतन्त्र अनुसन्धान र ठोस प्रमाणबाट परीक्षण गर्नुपर्ने गम्भीर विषय हुन् ।

मन्त्रालय वा मातहतका निकायमा सार्वजनिक निर्माण तथा खरिदका काम गर्दा बजेट खण्डीकरण गरी निकटस्थ व्यक्तिलाई सोझै काम दिने र त्यसो गर्न अनुकूल नभए कमिसन वा अग्रिम रकम लिने अभ्यास रहेको पनि बताइन्छ ।

स्थानीय तहको सार्वजनिक वित्तीय व्यवस्थापन, खरिद तथा निर्माणसम्बन्धी अनियमितताका विषय महालेखा परीक्षक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रतिवेदन तथा अनुसन्धानमा पनि उठ्दै आएका छन् । यद्यपि, लेखापरीक्षणमा प्रश्न उठ्नु, अख्तियारमा उजुरी पर्नु वा मुद्दा दायर हुनु मात्रै भ्रष्टाचार प्रमाणित हुनु होइन । त्यसका लागि सम्बन्धित प्रमाण, अनुसन्धान र न्यायिक प्रक्रियालाई आधार मान्नुपर्छ । तर जे जति प्रश्न उठ्ने गरेका छन्, ती अपवाद भने होइनन् ।

सचिवालय, आफन्त र सरकारी स्रोतसाधन
मन्त्री, मन्त्रीका सल्लाहकार, परिवारका सदस्य तथा निकटस्थ व्यक्तिलाई मन्त्रालयका सवारीसाधन र अन्य सरकारी स्रोतसाधन उपलब्ध गराउने अभ्यास रहेको भुक्तभोगीहरूको अनुभव छ ।

मन्त्रीको सचिवालयमा सकेसम्म धेरै व्यक्तिलाई नियुक्ति दिने, मातहतका विभाग, कार्यालय तथा संस्थामा आवश्यकता वा दरबन्दी नभए पनि ठाडो तोक आदेशका भरमा नियुक्ति गर्ने र त्यस्ता नियुक्तिमा समेत आर्थिक लेनदेन हुने गरेको आरोप छ ।

मन्त्रीका छोरा, श्रीमती, साला, साली तथा अन्य निकटस्थ व्यक्तिहरू सचिवालयमा रहने वा निर्णय प्रक्रियामा प्रभाव पार्दै अनुचित आर्थिक असुलीलाई प्रोत्साहन गर्ने गरेको समेत बताइन्छ ।

मन्त्रीको सचिवालय मन्त्रीलाई आफ्नो सार्वजनिक जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न सहयोग गर्ने संयन्त्र हो । त्यसले नियमित प्रशासनिक संरचनालाई विस्थापित गर्ने, कर्मचारी व्यवस्थापनमा समानान्तर अधिकार प्रयोग गर्ने वा सरकारी स्रोतलाई व्यक्तिगत लाभका लागि परिचालन गर्ने अवस्था आउनु हुँदैन ।

सचिवालयका सदस्यको सङ्ख्या, जिम्मेवारी, योग्यता र उनीहरूका लागि परिचालित सरकारी स्रोतसाधनको विवरण सार्वजनिक हुँदा मन्त्रीको सचिवालयलाई समेत थप जवाफदेही बनाउन सकिन्छ ।

बिचौलियाको घेरामा मन्त्रालय र मन्त्री
विगतमा मन्त्रालयको वातावरण कतिपय अवस्थामा माछाबजारजस्तै देखिने गरेको भुक्तभोगीहरूको अनुभव छ । बिचौलिया, कर्मचारी, सांसद, राजनीतिक दलसम्बद्ध नेता तथा कार्यकर्ताहरू विभिन्न व्यक्तिलाई साथमा लिएर मन्त्रीलाई भेटिरहेका हुन्थे ।

साना काम तल्लो तहका कर्मचारीबाट मिलाउने र ठूला कामका लागि मन्त्रालयबाहिरै आर्थिक सम्झौता हुने गरेको आरोप छ ।

कतिपय मन्त्रीहरू कार्यकर्ता, सांसद र बिचौलियाको घेरामा भेटिन्थे । उनीहरूले आफ्नो कार्यकाललाई प्रशासनिक सुधार र नागरिकको हितमा उपयोग गर्नुभन्दा अधिकतम आर्थिक उपार्जन गर्ने अवसरका रूपमा प्रयोग गरेको भुक्तभोगीहरूको बुझाइ छ ।

त्यसरी प्राप्त आर्थिक स्रोत राजनीतिक दलभित्र शक्तिशाली बन्न, प्रभावशाली नेताहरूको समर्थन प्राप्त गर्न, पुन: निर्वाचनको टिकट पाउन वा सत्तामा निरन्तर रहिरहन प्रयोग हुने गरेको आरोप छ ।

निश्चित राजनीतिक दलमा निश्चित व्यक्तिहरू नै पटक–पटक मन्त्री हुने प्रवृत्तिलाई पनि यस सन्दर्भमा प्रश्नको विषय बनाइएको छ । यद्यपि, कुनै व्यक्ति पटक-पटक मन्त्री हुनु मात्रै अनुचित आर्थिक गतिविधिको प्रमाण भने होइन ।

प्रशासनिक नेतृत्वको जिम्मेवारी
विगतका प्रशासनिक विकृतिको सम्पूर्ण जिम्मेवारी राजनीतिक नेतृत्वलाई मात्रै दिएर प्रशासनिक नेतृत्व उम्कन मिल्दैन ।

कानुनले सचिव र अन्य जिम्मेवार प्रशासनिक पदाधिकारीलाई दिएका अधिकार प्रयोग गर्न नसक्ने, राजनीतिक दबाबका अगाडि निरीह बन्ने वा राजनीतिक नेतृत्वको नाममा आफूअनुकूल निर्णय गर्ने प्रवृत्तिले पनि कर्मचारी प्रशासनमा विकृति बढाएको हुन सक्छ ।

प्रशासन डटकमले २०८० कात्तिकमा प्रकाशित ‘जिम्मेवारीबाट भाग्दै सामान्य, सचिवले गर्न सक्ने निर्णय मन्त्रिपरिषद् देखाएर पन्छिँदै मन्त्री’ शीर्षकको समाचारमा कर्मचारी सरुवामा सचिवको अधिकार, मन्त्रीको भूमिका र सचिवालयको हस्तक्षेपसम्बन्धी प्रश्न उठाएको थियो ।

कानुनसम्मत निर्णय गर्नुपर्ने सचिवले मन्त्रीको मुख ताक्ने र मन्त्रीले प्रशासनिक नेतृत्वको अधिकारक्षेत्रभित्र प्रवेश गर्ने अभ्यासले निजामती प्रशासनको संस्थागत क्षमता कमजोर बनाउँछ ।

मन्त्री फेरिएसँगै प्रशासनिक निर्णयको आधार पनि फेरिने अवस्था अन्त्य गर्न राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वबीचको अधिकार, जिम्मेवारी र जवाफदेहिताको सीमा स्पष्ट हुन आवश्यक छ ।

सुधारको कार्ययोजना र पत्रकारिताको भूमिका
विगतमा कतिपय मन्त्रीसँग प्रशासनिक सुधारको स्पष्ट कार्ययोजना विरलै हुने गरेको अनुभव छ । केही काम सुधारात्मक देखिए पनि ती दीर्घकालीन प्रणालीगत परिवर्तनभन्दा देखावटी प्रकृतिका हुने गरेको आलोचना छ ।

यस्तो अवस्थामा पनि निष्ठापूर्वक पत्रकारिता गर्ने पत्रकारहरूले निरन्तर खबरदारी गरिरहे, तथ्य र प्रमाण सार्वजनिक गरिरहे । अर्कोतर्फ, मन्त्री वा सम्बन्धित व्यक्तिबाट आर्थिक लाभ लिएर प्रशस्तिका गीतलाई समाचारका शीर्षक र बाइलाइन बनाउने प्रवृत्तिसमेत रहेको आरोप छ ।

विरोधाभास के थियो भने, यस्ता विकृति र विसंगतिमा प्रश्न उठिरहेकै बेला राजनीतिक तथा प्रशासनिक नेतृत्वबाट सुशासन र पारदर्शिताका प्रवचन पनि निरन्तर भइरहे । नागरिकहरू ताली बजाइरहे, खादा र माला लगाइरहे ।

के केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ वा शेरबहादुर देउवालगायतका नेतृत्वले परिकल्पना गरेको लोकतन्त्र, सुशासन र समृद्धिको अभ्यास यही थियो त ? विगतका यी अनुभव र आरोपप्रति तत्कालिन नेतृत्वको जवाफ के छ ?

पछिल्ला करिब ३५ वर्षको शासन अभ्यासमा के-कति सुधार भए, कति विकृति संस्थागत भए र मुलुकले के प्राप्त गर्‍यो भन्ने विषयको मूल्याङ्कन अन्तत: नागरिक स्वयंले गर्नेछन् ।

अहिले : सुधारको प्रारम्भिक उपलब्धि र बदलिँदो कार्यशैली
राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको वर्तमान सरकार गठन भएपछिको संघीय मामिला तथा सामान्य प्रशासन क्षेत्रको कार्यशैलीबारे भुक्तभोगीहरूले विगतको तुलनामा उल्लेखनीय सुधारको अनुभव सुनाएका छन् ।

विशेषगरी कर्मचारी सरुवामा विगतको जस्तो बाह्य हस्तक्षेप, आर्थिक लेनदेन, सेटिङ र चलखेलमा कमी आएको उनीहरूको भनाइ छ । कतिपय कर्मचारीले विगतमा खुलेआमजस्तै हुने गरेको आर्थिक मोलमोलाइ अहिले आफूले अनुभव नगरेको बताएका छन् ।

विगतमा कर्मचारी व्यवस्थापनमा प्रभावशाली मानिएका बिचौलिया तथा अनौपचारिक शक्ति समूहको प्रभाव खुम्चिएको र मन्त्रीको सचिवालयमार्फत हुने गरेका अनुचित गतिविधि उही स्वरूपमा नदेखिएको उनीहरूको प्रारम्भिक मूल्याँकन छ ।

कर्मचारी सरुवाजस्तो संवेदनशील विषयमा आर्थिक लेनदेन र बिचौलियाको प्रभाव घटेको अनुभवलाई सामान्य परिवर्तनका रूपमा मात्रै लिनु हुँदैन । वर्षौँदेखि त्यस्तो अभ्यास भोग्दै आएका कर्मचारीका लागि यो महत्त्वपूर्ण परिवर्तन हो । यसले पहुँच र आर्थिक सामर्थ्य नभएका कर्मचारीमा पनि निष्पक्ष व्यवहार पाउने आशा जगाउन सक्छ ।

वर्तमान भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले कर्मचारी व्यवस्थापनमा अघि सारेका कतिपय निर्णयले सुधारको सम्भावना देखाएका छन् ।

वर्षौँदेखि जरा गाडेका विकृति र विसङ्गति छोटो अवधिमै पूर्ण रूपमा अन्त्य गर्न सहज हुँदैन । स्थापित स्वार्थ समूहको प्रभाव नियन्त्रण गर्दै प्रशासनिक संयन्त्रलाई नयाँ कार्यसंस्कृतिमा अभ्यस्त गराउनु आफैँमा चुनौतीपूर्ण काम हो । त्यसैले अहिले भएका सुधारका प्रयासलाई विगतको पृष्ठभूमि, विद्यमान चुनौती र प्राप्त उपलब्धिसँग जोडेर मूल्यांकन गर्नुपर्छ ।

कर्मचारी व्यवस्थापनमा योग्यताक्रमको अभ्यास
वर्तमान मन्त्रीले कर्मचारी पदस्थापनमा पहुँच र व्यक्तिगत रोजाइभन्दा वस्तुगत आधारलाई प्राथमिकता दिने प्रयास गरेकी छन् ।

प्रशासन डटकमले २०२६ मार्च ३१ मा प्रकाशित ‘कर्मचारी सरुवालाई विवादरहित बनाउन लोक सेवा आयोगको वरियताक्रम लागू गर्दै मन्त्री प्रतिभा रावल’ शीर्षकको समाचारमा बढुवा भएका उपसचिवको पदस्थापनमा योग्यताक्रमलाई आधार बनाउन खोजिएको विषय उल्लेख गरेको थियो ।

योग्यताक्रमलाई आधार बनाएर पदस्थापन गर्ने अभ्यासले कर्मचारीलाई अवसर प्राप्त गर्न मन्त्री, सचिवालय वा अन्य प्रभावशाली व्यक्तिको पहुँच खोज्नुपर्ने अवस्था घटाउन सहयोग पुर्‍याउन सक्छ ।

कर्मचारीको योग्यता, अनुभव, सेवाअवधि र कार्यालयको आवश्यकताका आधारमा जिम्मेवारी निर्धारण गर्ने यस्तो अभ्यासलाई निरन्तरता दिँदै स्पष्ट मापदण्ड र संस्थागत प्रक्रियामार्फत सुनिश्चित गर्न आवश्यक छ ।

निमित्तको अभ्यास नियन्त्रणमा कडाइ
वर्तमान सरकारले मन्त्रालयबाट खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएर निमित्तबाटै प्रशासन सञ्चालन गर्न खोज्ने स्थानीय तहमाथि कडाइ गरेको छ ।

प्रशासन डटकमले २०८३ वैशाख १० गते प्रकाशित ‘निमित्तबाट स्थायी व्यवस्थातर्फ स्थानीय तह, करिब सबै पालिकामा कन्फर्म प्रमुख प्रशासकीय अधिकृत’ शीर्षकको समाचारमा मन्त्री प्रतिभा रावलको कार्यकाल सुरु भएपछि स्थानीय तहमा नियमित प्रमुख प्रशासकीय अधिकृत खटाउने अभियानलाई प्राथमिकता दिइएको उल्लेख गरेको थियो ।

उक्त समाचारअनुसार त्यस अवधिमा ९२ उपसचिव र ८२ शाखा अधिकृत गरी १७४ कर्मचारीलाई विभिन्न स्थानीय तहमा पदस्थापन गरिएको थियो । मन्त्रालयका अनुसार सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशमा प्रमुख प्रशासकीय अधिकृतको पदपूर्ति करिब ८० प्रतिशत पुगेको थियो ।

कान्तिपुर दैनिकले २०८३ साउन ११ गते प्रकाशित ‘प्रशासकीय अधिकृत हाजिर नगराउने पालिकाको आर्थिक कारोबार रोक्का गर्दै मन्त्रालय’ शीर्षकको समाचारअनुसार त्यसबेला देशभरका ७५३ स्थानीय तहमध्ये १९ वटामा नियमित प्रमुख प्रशासकीय अधिकृत थिएनन् ।

त्यसपछि पनि मन्त्रालयले सरुवा निर्णय कार्यान्वयन गराउन कडाइ गरेको देखिन्छ । प्रशासन डटकमले २०८३ असोजमा प्रकाशित ‘प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द’ शीर्षकको समाचारमा पिपरा गाउँपालिकामा मन्त्रालयले चालेको कदम सार्वजनिक गरेको थियो ।

त्यसैगरी २०८३ कात्तिक १३ गते प्रकाशित ‘तीन प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक अधिकार रद्द’ र मंसिर २ गते प्रकाशित ‘सरुवा कार्यान्वयन नभएपछि प्रशासकीय अधिकृतको आर्थिक अधिकार रद्द’ शीर्षकका समाचारमा मन्त्रालयले सरुवा कार्यान्वयनका लागि चालेका थप कदम उल्लेख गरिएका थिए ।

विगतमा सयौँ स्थानीय तह निमित्तको भरमा सञ्चालन हुने गरेको पृष्ठभूमिमा नियमित प्रमुख प्रशासकीय अधिकृत खटाउने यी प्रयास स्थानीय प्रशासनको स्थायित्व र वित्तीय अनुशासनका दृष्टिले महत्त्वपूर्ण छन् ।

निमित्तको अभ्यास अन्त्य गर्ने प्रयास वर्तमान सरकारबाट मात्रै सुरु भएको भने होइन । प्रशासन डटकमले २०७७ मंसिर १७ गते प्रकाशित ‘निमित्तको नामबाट गरिँदै आएको कारोबार रोक्का गर्न सामान्यको पत्र’ शीर्षकको समाचारमा मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएको भन्दै बाराको करैयामाई गाउँपालिकाको आर्थिक कारोबार रोक्का गर्न मन्त्रालयले सम्बन्धित निकायलाई पत्राचार गरेको विषय सार्वजनिक गरेको थियो ।

तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले पनि २०८२ भदौ १२ गते देशभरका गाउँपालिका र नगरपालिकालाई निमित्तविहीन बनाइएको घोषणा गरेकी थिइन् । त्यसबेला मन्त्रालयले १०५ नगरपालिका र ८६ गाउँपालिकामा रहेको निमित्तको अवस्था अन्त्य गर्न कर्मचारी खटाएको जनाएको थियो । प्रशासन डटकम र नागरिक दैनिकले समेत उक्त विषय सार्वजनिक गरेका थिए ।

विगतका यी प्रयासलाई वर्तमान सुधारको आधारका रूपमा समेत लिन सकिन्छ । तर पटक-पटक निमित्तको अभ्यास अन्त्य गर्ने प्रयास हुँदाहुँदै पनि पुन: त्यही अवस्था किन सिर्जना हुन्छ भन्ने प्रश्नको दिगो समाधान खोज्नुपर्छ ।

नियमित प्रमुख प्रशासकीय अधिकृत खटाउनु पहिलो उपलब्धि हो । खटिएका अधिकृतलाई निर्धारित अवधिसम्म जिम्मेवारी निर्वाह गर्ने वातावरण दिनु, स्थानीय तहको प्रशासनिक स्थायित्व सुनिश्चित गर्नु र सेवा प्रवाहमा त्यसको सकारात्मक प्रभाव देखिनु त्यसपछिको उपलब्धि हुनेछ ।

दलीय ट्रेड युनियनको प्रभाव नियन्त्रण र संवैधानिक बहस
वर्तमान सरकारले निजामती प्रशासनमा दलीय ट्रेड युनियनको प्रभाव नियन्त्रण गर्न महत्त्वपूर्ण कानुनी कदम चालेको छ ।

‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ मार्फत कर्मचारी ट्रेड युनियनसम्बन्धी व्यवस्थामा परिवर्तन गरिएको थियो । प्रशासन डटकमसँगै कान्तिपुर र गोरखापत्रलगायतका सञ्चारमाध्यमले उक्त निर्णय र त्यसबाट उत्पन्न बहसलाई सार्वजनिक गरेका थिए ।

निजामती प्रशासनको निष्पक्षता, तटस्थता, व्यावसायिकता र जवाफदेहिता सुनिश्चित गर्ने उद्देश्यसँग जोडेर सरकारले यो निर्णय अघि सारेको बताएको थियो ।

सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदनसमेत पर्‍यो । प्रशासन डटकमले २०८३ वैशाखमा प्रकाशित ‘ट्रेड युनियन प्रतिबन्ध कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश, संवैधानिक इजलासमा दुई न्यायाधीशको फरक राय’ शीर्षकको समाचारमा त्यससम्बन्धी प्रारम्भिक न्यायिक आदेश सार्वजनिक गरेको थियो ।

पछि सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त आदेशलाई निरन्तरता नदिएपछि सरकारी निर्णय कार्यान्वयनको बाटो खुलेको थियो ।

प्रशासन डटकमले २०८३ असारमा प्रकाशित ‘सरकारी कार्यालयबाट ट्रेड युनियन कार्यालय तथा बोर्ड सात दिनभित्र हटाउन प्रशासनको निर्देशन’ शीर्षकको समाचारमा सरकारी संरचनाभित्र सञ्चालित ट्रेड युनियन कार्यालय हटाउने निर्देशन तथा ट्रेड युनियनको दर्ता खारेजीसम्बन्धी विषय सार्वजनिक गरेको थियो । नयाँ पत्रिका दैनिकले पनि सरकारी भवन, कार्यकक्ष, सवारीसाधन तथा अन्य सुविधा फिर्ता गर्ने र कर्मचारीलाई दरबन्दीअनुसार जिम्मेवारीमा खटाउने विषय उठाएको थियो ।

कर्मचारीको पेसागत संगठनका नाममा प्रशासनिक निर्णय प्रभावित गर्ने, समानान्तर शक्ति केन्द्र सञ्चालन गर्ने वा सार्वजनिक स्रोतसाधनको अनुचित प्रयोग गर्ने अभ्यास नियन्त्रण गर्न सकिएमा निजामती प्रशासनको व्यावसायिकता अभिवृद्धि गर्न सहयोग पुग्ने कतिपय प्रशासकहरुको भनाई रहँदै आएको छ।

तर ट्रेड युनियनसम्बन्धी कानुनी व्यवस्थाको अन्तिम संवैधानिक निरूपण भइसकेको छैन । प्रशासन डटकमले २०८३ मंसिर २ गते प्रकाशित ‘निजामती ट्रेड युनियन खारेजीसम्बन्धी रिट संवैधानिक इजलासमा पठाउने आदेश’ शीर्षकको समाचारमा सर्वोच्च अदालतको पछिल्लो आदेश सार्वजनिक गरेको छ । कान्तिपुरले पनि ट्रेड युनियन खारेजीविरुद्धको अर्को रिट संवैधानिक इजलासमा पठाइएको विषय उठाएको थियो ।

ट्रेड युनियनको व्यवस्थापन र खारेजीबारे यसअघि पनि बहस हुँदै आएको थियो ।

दलीय प्रभाव हटाउने नाममा कर्मचारीको वैधानिक हकहित र जायज आवाज उठाउने अधिकार सङ्कुचित हुनु हुँदैन । त्यसैगरी पेसागत अधिकारका नाममा सरुवा, बढुवा, पदस्थापन र सार्वजनिक स्रोत परिचालनमा अनुचित हस्तक्षेप पनि स्वीकार्य हुन सक्दैन । यी दुई पक्षबीच सन्तुलन कायम गर्दै कर्मचारी प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त बनाउनु अबको आवश्यकता हो ।

कर्मचारी सरुवालाई डिजिटल बनाउने प्रयास
वर्तमान सरकारले कर्मचारी सरुवा प्रक्रियालाई प्रविधिमा आधारित बनाउने तयारीसमेत अघि बढाएको छ ।

प्रशासन डटकमले २०८३ असार १६ गते प्रकाशित ‘कर्मचारी सरुवाका सबै प्रक्रिया अनलाइनबाटै हुने, निर्णय २४ घण्टाभित्र सार्वजनिक गरिने’ शीर्षकको समाचारमा मन्त्रालयले सरुवा प्रक्रियालाई पारदर्शी, उत्तरदायी र प्रविधिमैत्री बनाउने गरी डिजिटल प्रणाली विकास गर्न लागेको उल्लेख गरेको थियो ।

सोही विषयमा अनलाइनखबरले ‘कर्मचारी सरुवा अब अनिवार्य रूपमा डिजिटल, आवेदनदेखि निर्णयसम्म सबै अनलाइनमै’ शीर्षकमा समाचार प्रकाशित गर्दै कर्मचारीले आफ्नो सरुवा आवेदन कुन चरणमा पुगेको छ भन्ने विषयसमेत प्रणालीबाट हेर्न सक्ने व्यवस्था गर्न लागिएको उल्लेख गरेको थियो ।

गोरखापत्रले पनि ‘अब सफ्टवेयरबाटै कर्मचारी सरुवा’ शीर्षकमा कर्मचारी व्यवस्थापनलाई प्रणालीमा आबद्ध गर्ने मन्त्रालयको तयारीबारे समाचार प्रकाशित गरेको थियो ।

यो व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेमा कर्मचारीले सरुवाका लागि मन्त्रालय धाउनुपर्ने, मन्त्री वा सचिवालयका व्यक्तिसँग पहुँच खोज्नुपर्ने र बिचौलियाको सहारा लिनुपर्ने अवस्थाको अन्त्य गर्न सहयोग पुग्नेछ ।

डिजिटल प्रणालीले सरुवाको आवेदनदेखि निर्णयसम्मको अभिलेख सुरक्षित राख्न, निर्णयमा भएको परिवर्तन पहिचान गर्न र जिम्मेवार पदाधिकारीलाई जवाफदेही बनाउन सक्ने भएकाले विगतको अपारदर्शी सरुवा प्रणालीको विकल्प बन्ने सम्भावना छ ।

तर कागजी प्रक्रियालाई डिजिटल बनाउनु मात्रै सुधार होइन । सरुवाको आधार, रिक्त दरबन्दी, कर्मचारीको सेवाअवधि, योग्यता, प्राथमिकता, भौगोलिक अनुभव र निर्णयको कारणसमेत प्रणालीमा अभिलेखीकरण हुनुपर्छ ।

प्रणालीमा प्रविष्ट गरिने विवरण सही हुनुपर्छ, निर्णयका आधार स्पष्ट हुनुपर्छ र ती आधार सबै कर्मचारीका हकमा समान रूपमा लागू हुनुपर्छ । त्यसो गर्न सकिएमा अहिलेको सुधारले मन्त्रीको कार्यकालभन्दा परसम्म प्रभाव पार्न सक्छ ।

सुधारका बीचमा देखिएका कमजोरी र कर्मचारीका असन्तुष्टि
कर्मचारी प्रशासनमा विगतको तुलनामा सुधार भएको अनुभव सुनाउने कर्मचारीहरू नै अहिलेका कतिपय सरुवा निर्णयप्रति असन्तुष्ट पनि छन् ।

आर्थिक लेनदेन र बिचौलियाको प्रभाव घट्नु तथा सरुवामा अपेक्षित समानता कायम हुन नसक्नु फरक प्रकृतिका विषय हुन् । पहिलो विषय प्रशासनिक शुद्धीकरणसँग सम्बन्धित छ भने दोस्रो कर्मचारी व्यवस्थापनको न्यायोचितता र कार्यान्वयनसँग ।

विगतका विकृत अभ्याससँग अहिलेका व्यवस्थापकीय कमजोरीलाई समान रूपमा तुलना गर्नु उचित हुँदैन । तर सुधारको प्रक्रिया सुरु भएकै कारण त्यसका कमजोरीलाई बेवास्ता गर्नु पनि उचित हुँदैन ।

चयनमुखी सरुवाको प्रश्न र मन्त्रीका बाध्यता
स्थानीय तहमा अनिवार्य रूपमा प्रमुख प्रशासकीय अधिकृत खटाउने क्रममा कतिपय सरुवा चयनमुखी भएको आक्षेप कर्मचारी वृत्तबाट उठिरहेको छ । केही निर्णयमा त्यस्तो असमानताको झल्को देखिएको उनीहरूको बुझाइ छ । पछिल्ला केही सरुवा निर्णयहरुलाई केलाउँदा पनि त्यो आभाष हुने भुक्तभोगीहरुको भनाई छ ।

प्रशासन डटकमले सरकार गठन भएको प्रारम्भिक समयमै २०८३ वैशाखमा प्रकाशित ‘सरुवा प्रणालीमा सुधारको अपेक्षा र पुन: उब्जिएको संशय’ शीर्षकको सामग्रीमा मन्त्रीबाट विवादरहित कर्मचारी व्यवस्थापन गर्न निर्देशन दिइए पनि कतिपय सरुवा निर्णयमा देखिएको असन्तुलन र पक्षपातको आभासबारे प्रश्न उठाएको थियो ।

यसमा मन्त्रीका आफ्नै व्यावहारिक बाध्यता पनि रहेको कर्मचारीहरूको भनाइ छ । कतिपय मन्त्रीले नामै किटेर कर्मचारी माग गर्ने र स्थानीय तहमा खटाइसकिएका कर्मचारीलाई समेत सम्बन्धित मन्त्रीले मागेको निकायमा पठाउनुपर्ने परिस्थितिले समान प्रकृतिका कर्मचारीबीच असमान व्यवहार भएको अनुभूति गराएको छ । कतिपय सरुवा निर्णय छोटो अवधिमै बदर गरिएका विषय पनि कर्मचारीले उठाएका छन् ।

अन्तरमन्त्रालय समन्वय र विशिष्ट जिम्मेवारीका लागि अनुभवी कर्मचारीको आवश्यकता पर्नु स्वाभाविक हो । मन्त्रीले कुनै विशेष जिम्मेवारीका लागि योग्य ठानेका कर्मचारी माग्नु आफैँमा अस्वाभाविक होइन । तर त्यसरी कर्मचारी खटाउँदा अपनाइएको आधार र औचित्य स्पष्ट नभए समान अवस्थामा रहेका अन्य कर्मचारीले आफू अन्यायमा परेको महसुस गर्न सक्छन् ।

मन्त्रीको व्यावहारिक बाध्यतालाई बुझ्नुपर्छ । तर त्यस्तो बाध्यताको सम्बोधन गर्दा स्थापित मापदण्ड, निष्पक्षता र समान व्यवहारको सिद्धान्त कमजोर बन्न दिनु हुँदैन । एउटा मन्त्रालयको आवश्यकता पूरा गर्ने क्रममा अर्को मन्त्रालय वा स्थानीय तहमा सिर्जना हुने जनशक्ति अभावलाई पनि ध्यान दिनुपर्छ ।

यसका लागि सरुवाको सामान्य मापदण्डभन्दा फरक निर्णय गर्नुपर्ने अवस्थामा सम्बन्धित मन्त्रालयको माग, कर्मचारीको विज्ञता, जिम्मेवारीको प्रकृति र निर्णयको औचित्य अभिलेखीकरण गर्ने व्यवस्था गर्न सकिन्छ ।

पीआईएसमा आधारित सरुवा र कार्यान्वयनमा असमानता
सरुवालाई प्रणाली तथा कर्मचारी सूचना प्रणाली (पीआईएस) मा आधारित बनाउने भनिए पनि त्यसको व्यावहारिक कार्यान्वयनमा एकरूपता देखिन नसकेको गुनासो छ ।

लामो समय स्थानीय तहमा काम गरेका कर्मचारीलाई पुन: स्थानीय तहमै र दुर्गममा काम गरिसकेकालाई पुन: दुर्गममै खटाउँदा अहिलेसम्म स्थानीय तहमा काम नगरेका कतिपय कर्मचारीलाई संघमै राखिएको कर्मचारीहरूको भनाइ छ ।

पहुँच भएका भनिएका कतिपय कर्मचारीलाई सिंहदरबारभित्रकै एउटा निकायबाट अर्को निकायमा खटाइएको विषयले पनि कर्मचारीलाई असन्तुष्टि व्यक्त गर्ने आधार दिएको छ ।

एकातिर स्थानीय तहमा प्रशासनिक नेतृत्व सुनिश्चित गर्न कर्मचारीलाई अनिवार्य रूपमा खटाउने नीति अवलम्बन गर्नु र अर्कोतिर समान अवस्था तथा योग्यता भएका कतिपय कर्मचारीलाई संघमै राख्नुले नीति कार्यान्वयनमा समानता कायम भए-नभएको प्रश्न उठाएको छ ।

प्रणालीमा आधारित सरुवाको अर्थ कर्मचारीको विवरण कम्प्युटरबाट निकाल्नु मात्रै होइन । विगतको कार्यस्थल, सेवाअवधि, भौगोलिक अनुभव, दुर्गम तथा सुगम क्षेत्रमा गरेको सेवा र जिम्मेवारीको प्रकृतिसमेत विश्लेषण गरी सबै कर्मचारीलाई समान मापदण्ड लागू गर्नु हो ।

दुर्गममा सेवा गरिसकेका कर्मचारीलाई सुगममा काम गर्ने अवसर र लामो समय सुगम क्षेत्रमा बसेका कर्मचारीलाई दुर्गम तथा स्थानीय तहमा सेवा गर्ने जिम्मेवारी न्यायोचित रूपमा बाँडफाँट गर्न सकिएको भए सुधारको अनुभूति अझ व्यापक हुन सक्थ्यो ।

संघमा नीति निर्माणको अनुभव भएका कर्मचारीले स्थानीय तहको कार्यान्वयन अवस्था बुझ्ने र स्थानीय तहमा प्रत्यक्ष सेवा प्रवाहको अनुभव भएका कर्मचारीले नीति निर्माणमा योगदान गर्ने अवसर पाउनुपर्छ । यसले कर्मचारीको व्यावसायिक क्षमता विकाससँगै तीन तहका सरकारबीचको प्रशासनिक सम्बन्धलाई समेत मजबुत बनाउँछ ।

त्यसका लागि कर्मचारीको सेवाको अभिलेख अद्यावधिक गरी विगतको खटनपटनसमेत हेरेर चक्रीय सरुवा प्रणाली विकास गर्न सकिन्छ । विशेष परिस्थितिमा अपवाद कायम गर्नुपरे त्यसको स्पष्ट आधार, कारण र औचित्य हुनुपर्छ ।

सेवाअवधिको मापदण्डमा एकरूपता
कर्मचारी सरुवा गर्दा सम्बन्धित कार्यालयमा बिताएको सेवाअवधिलाई पनि समान रूपमा आधार बनाउनुपर्ने हुन्छ ।

कतिपय कर्मचारीलाई निर्धारित अवधि नपुग्दै सरुवा गर्ने तर समान वा त्यसभन्दा बढी सेवाअवधि पूरा गरेका अन्य कर्मचारीलाई यथास्थानमै राख्ने अभ्यास रहेको गुनासोले सरुवा चयनमुखी भएको आक्षेपलाई बल पुर्‍याएको छ ।

प्रशासन डटकमले २०८३ भदौमा प्रकाशित ‘दुई दर्जन हाराहारी सहसचिव र उपसचिवको सरुवा हुँदै, मापदण्ड र स्थायित्वको प्रश्न कायमै’ शीर्षकको समाचारमा कर्मचारी सरुवाको आवृत्ति र कार्यअवधिलाई लिएर निजामती वृत्तमा उठेका प्रश्नलाई उजागर गरेको थियो ।

कुनै कर्मचारीलाई अवधि नपुग्दै सरुवा गर्नुपर्ने विशेष प्रशासनिक परिस्थिति सिर्जना हुन सक्छ । तर त्यस्तो निर्णय गर्दा त्यसको कारण अभिलेखीकरण गर्ने र समान परिस्थितिका अन्य कर्मचारीका हकमा पनि उही आधार लागू गर्ने व्यवस्था हुनुपर्छ ।

कर्मचारीले आफ्नो कार्यकाल कहिलेसम्म रहने हो भन्ने सामान्य पूर्वानुमानसमेत गर्न नसक्ने अवस्था भएमा उसले दीर्घकालीन कार्ययोजना बनाउन, जिम्मेवारीप्रति अपनत्व विकास गर्न र प्रभावकारी नतिजा दिन कठिन हुन सक्छ ।

विशेषगरी कार्यालय प्रमुख वा आयोजना प्रमुखको कार्यकाललाई उससँग गरिएको कार्यसम्पादन सम्झौता, जिम्मेवारी र अपेक्षित उपलब्धिसँग जोड्नुपर्छ । जिम्मेवारी दिएर नतिजा दिने समय नै नपुग्दै कर्मचारी फेरिँदा सम्बन्धित कार्यालयको संस्थागत स्मृति, कार्यसम्पादन र जवाफदेहिता कमजोर बन्न सक्छ ।

कर्मचारी खटनपटनमा मानवीय संवेदनशीलता र मनोबल
कर्मचारी सरुवा राज्यको प्रशासनिक आवश्यकता हो । तर कर्मचारी पनि सामाजिक तथा पारिवारिक दायित्व भएका व्यक्ति हुन् भन्ने यथार्थलाई बिर्सनु हुँदैन ।

कर्मचारीको स्वास्थ्य अवस्था, पारिवारिक परिस्थिति, आश्रित सदस्यको हेरचाह तथा अन्य विशेष परिस्थितिलाई वैज्ञानिक आधार, वस्तुगत कारण र प्रमाणका आधारमा सम्बोधन गर्न सकिएको भए सरुवा प्रक्रिया अझ न्यायोन्मुख हुने थियो ।

स्थानीय तहमै खटाउनुपर्ने कर्मचारीलाई सम्भव भएसम्म पायक पर्ने जिल्ला वा स्थानीय तह रोज्ने अवसर दिई राज्यको आवश्यकता र कर्मचारीको प्राथमिकताबीच सन्तुलन मिलाउन सकिन्थ्यो । यसले कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति थप उत्साहित र प्रतिबद्ध बनाउन सहयोग पुर्‍याउन सक्थ्यो ।

राज्यलाई आवश्यक परेको स्थानमा कर्मचारी खटिनु उनीहरूको पदीय दायित्व हो । तर विकल्प हुँदाहुँदै कर्मचारीलाई अर्को प्रदेश वा टाढाको भौगोलिक क्षेत्रमा खटाउँदा सिर्जना हुने पारिवारिक असहजता, मनोवैज्ञानिक दबाब र मनोबलमा पर्ने असरलाई पनि बेवास्ता गर्न मिल्दैन ।

कर्मचारीको मनोबल खस्किएको अवस्थामा सेवा प्रवाहमा अपेक्षाअनुरूप प्रभावकारिता हासिल गर्न कठिन हुन सक्छ ।

राज्यको आवश्यकता र कर्मचारीको सुविधाबीच सन्तुलन कायम गर्नु भनेको कर्मचारीको रोजाइअनुसार मात्रै प्रशासन सञ्चालन गर्नु होइन । उपलब्ध विकल्पमध्ये राज्यको आवश्यकता पनि पूरा हुने र कर्मचारीलाई अनावश्यक असहजता पनि नहुने गरी विवेकपूर्ण निर्णय गर्नु हो ।

यसका लागि कर्मचारीलाई सम्भावित कार्यस्थलको प्राथमिकताक्रम रोज्न दिने, त्यस्तो प्राथमिकतालाई विगतको सेवाअवधि, भौगोलिक अनुभव र रिक्त दरबन्दीसँग मिलाउने तथा विशेष मानवीय परिस्थितिका लागि स्पष्ट मापदण्ड बनाउने विकल्प अपनाउन सकिन्छ ।

कर्मचारीको व्यक्तिगत परिस्थितिलाई सम्बोधन गर्ने नाममा पुन: पहुँच र भनसुनको अभ्यास मौलाउन नदिन त्यस्ता निर्णय वस्तुगत कारण र प्रमाणमा आधारित हुनुपर्छ ।

सरुवा प्रणालीमा मानवीय संवेदनशीलता समेट्नु पक्षपात होइन, बरु स्पष्ट मापदण्ड र प्रमाणका आधारमा गरिने न्यायपूर्ण कर्मचारी व्यवस्थापन हो ।

सरुवाको सफलता कति कर्मचारीको कार्यस्थल परिवर्तन गरियो भन्नेमा होइन, खटाइएका कर्मचारीबाट कति प्रभावकारी सेवा प्रवाह भयो भन्नेमा खोजिनुपर्छ ।

विवादित निर्णय सच्याउने अभ्यास
कर्मचारी सरुवामा अझै सुधार गर्नुपर्ने विषय रहेको एउटा महत्त्वपूर्ण दृष्टान्त नापी विभागका कर्मचारीको सरुवा प्रकरणले प्रस्तुत गरेको छ ।

प्रशासन डटकमले २०८३ असोजमा प्रकाशित ‘सरुवाप्रति असन्तुष्टि भए प्रमाणसहित गुनासो पेस गर्न नापी विभागको आग्रह’ शीर्षकको समाचारमा १०३ नापी अधिकृतसहित ८५७ कर्मचारीको सरुवामा पक्षपात, निकटस्थलाई प्राथमिकता र चयनमुखी निर्णय गरिएको भन्ने गुनासोपछि विभागले प्रमाणसहित उजुरी पेस गर्न कर्मचारीलाई आग्रह गरेको विषय सार्वजनिक गरेको थियो ।

सरुवामा पहुँच, पक्षपात, मापदण्ड उल्लङ्घन र आर्थिक चलखेलसम्मका आरोप उठेपछि मन्त्री रावलले ती सबै कर्मचारीको सरुवा बदर गर्ने निर्णय गरिन् ।

प्रशासन डटकमले २०८३ कात्तिक १९ गते प्रकाशित ‘नापीका ८५७ कर्मचारीको विवादित सरुवा मन्त्री रावलद्वारा बदर, अनियमितताका आरोपमा पनि होला छानबिन ?’ र ‘नापीका ८५७ कर्मचारीको सरुवा बदरपछि नयाँ मापदण्ड जारी, अब चक्रीय प्रणाली र सेवा अवधिका आधारमा व्यवस्थापन’ शीर्षकका समाचारमा यससम्बन्धी घटनाक्रम सार्वजनिक गरेको थियो ।

विवादित निर्णयलाई प्रतिष्ठाको विषय नबनाई सच्याउनु र नयाँ मापदण्डका आधारमा कर्मचारी व्यवस्थापन अघि बढाउनु सुधारको सकारात्मक पक्ष हो । कर्मचारीका गुनासोलाई सम्बोधन गर्दै प्रशासनिक निर्णय पुनरावलोकन गर्न सकिन्छ भन्ने सन्देश पनि यसले दिएको छ ।

तर एकैपटक ८५७ कर्मचारीको सरुवा बदर गर्नुपर्ने परिस्थिति कसरी सिर्जना भयो ? प्रारम्भिक निर्णय गर्दा आवश्यक परीक्षण किन भएन ? निर्णय प्रक्रियामा संलग्न पदाधिकारीको जिम्मेवारी के हो ? यी प्रश्नको पनि उत्तर खोज्नुपर्छ ।

सरुवा बदर गरिनुले मात्रै आर्थिक चलखेलका आरोप प्रमाणित हुँदैनन् । तर त्यस्ता आरोपमाथि आवश्यक छानबिन नगरी सरुवा बदर गरेर मात्रै विषय टुङ्ग्याइयो भने निर्णय प्रक्रियामा देखिएका कमजोरी पुन: दोहोरिन सक्छन् ।

सुधारको एउटा पक्ष विवादित निर्णय सच्याउनु हो भने अर्को पक्ष त्यस्तो परिस्थिति पुन: सिर्जना हुन नदिने व्यवस्था गर्नु हो ।

एउटै पालिकामा दुई प्रमुख प्रशासकीय अधिकृत
निमित्तको अभ्यास अन्त्य गर्न मन्त्रालयले सक्रियता देखाइरहँदा कर्मचारी व्यवस्थापनको अभिलेख तथा निर्णय प्रक्रियामा देखिएका कतिपय त्रुटिले पनि प्रश्न उठाएका छन् ।

प्रशासन डटकमले २०८३ भदौ ३१ गते प्रकाशित ‘सरुवामा सामान्यको मनपरी उस्तै : एउटै पालिकामा खटाइए दुई प्रमुख प्रशासकीय अधिकृत’ शीर्षकको समाचारमा एउटै स्थानीय तहमा एकैपटक दुई जना प्रमुख प्रशासकीय अधिकृत खटाइएको विषय सार्वजनिक गरेको थियो ।

प्रणालीमा आधारित कर्मचारी व्यवस्थापनको तयारी गरिरहेको मन्त्रालयबाट एउटै पदमा दुई कर्मचारी खटिने निर्णय हुनुले दरबन्दी, पदस्थापन, सरुवा र निर्णय अभिलेखबीच आवश्यक समन्वयको प्रश्न उठाउँछ ।

यस्तो त्रुटिलाई राजनीतिक नेतृत्वको नियतसँग जोडेर मात्रै हेर्नुभन्दा निर्णय तयार गर्ने, तथ्य परीक्षण गर्ने र कार्यान्वयन गर्ने प्रशासनिक तहको जिम्मेवारीसमेत केलाउनुपर्छ ।

रिक्त दरबन्दीको वास्तविक विवरण प्रणालीमा अद्यावधिक राख्ने र एउटै पदमा दोहोरो पदस्थापन हुन नसक्ने गरी प्राविधिक नियन्त्रणको व्यवस्था मिलाउन सकिएमा यस्ता त्रुटि रोक्न सकिन्छ ।

कानुनी प्रक्रिया र न्यायिक आदेशको पालना
प्रमुख प्रशासकीय अधिकृतलाई अनिवार्य रूपमा स्थानीय तहमा खटाउने र सरुवा निर्णय कार्यान्वयन गराउने विषयमा मन्त्रालयले कडाइ गर्नु आवश्यक हुन सक्छ । तर त्यस्तो कडाइ कानुन र न्यायिक आदेशको सीमाभित्र हुनुपर्छ ।

प्रशासन डटकमले २०८३ कात्तिक १३ गते प्रकाशित ‘आदेशकै बीच बुढानीलकण्ठका प्रमुख प्रशासकीय अधिकृतको खाता रोक्का गर्न सामान्यको पत्राचार’ शीर्षकको समाचारमा प्रशासकीय अदालतले सरुवा निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको अवस्थामा समेत आर्थिक अधिकार परिवर्तन गर्न मन्त्रालयले पत्राचार गरेको विषय उठाएको थियो ।

यस घटनाले प्रशासनिक सुधारका नाममा गरिने निर्णयमा कानुनी प्रक्रिया र न्यायिक आदेशको पालनालाई उत्तिकै महत्त्व दिनुपर्ने देखाउँछ ।

सरुवा निर्णय कार्यान्वयन गराउनु मन्त्रालयको जिम्मेवारी हो भने कर्मचारीको कानुनी उपचार खोज्ने अधिकारको सम्मान गर्नु पनि उत्तिकै आवश्यक छ । सुधारको उद्देश्य राम्रो हुनु मात्रै पर्याप्त हुँदैन, त्यसका लागि अपनाइने प्रक्रिया पनि कानुनसम्मत हुनुपर्छ ।

सरुवा सूची सार्वजनिक गर्न ढिलाइ र पारदर्शिताको प्रश्न
प्रशासन डटकमले २०८३ जेठ २८ गते प्रकाशित ‘सामान्यको ‘साइलेन्ट’ सरुवा, अधिकृत र उपसचिवको सूची अझै सार्वजनिक भएन’ शीर्षकको समाचारमा मन्त्रालयले केही कर्मचारीको सरुवा सूची सार्वजनिक नगरेको भन्दै कर्मचारी वृत्तमा उठेको असन्तुष्टिलाई उजागर गरेको थियो ।

यसअघि नेपाल समाचारपत्रले पनि २०२६ मे २४ मा प्रकाशित समाचारमा कर्मचारी व्यवस्थापनसम्बन्धी नीति र त्यसको कार्यान्वयनबीच देखिएको अन्तर तथा मन्त्री र सचिवको कार्यशैलीमाथि उठेका प्रश्न सार्वजनिक गरेको थियो ।

पछिल्लो समय मातहतको नापी विभागका कर्मचारी सरुवामा समेत सूची सार्वजनिक गर्ने विषयमा प्रश्न उठेका छन् ।

प्रशासन डटकमले २०८३ मंसिर ५ गते प्रकाशित ‘डेढ दर्जनभन्दा बढी प्रमुख नापी अधिकृतको सरुवा, सूची सार्वजनिक भएन’ शीर्षकको समाचारमा मन्त्रालयले प्रमुख नापी अधिकृतको सरुवा गरे पनि तत्काल सूची सार्वजनिक नगरेको विषय उठाएको थियो ।

त्यसको भोलिपल्ट ‘यी हुन् सरुवा भएका प्रमुख नापी अधिकृतसहित १८ अधिकृत, हेर्नुहोस् को कहाँ ?’ शीर्षकमा प्रशासन डटकमले सरुवाको विवरण सार्वजनिक गरेको थियो ।

सरुवा निर्णय भइसकेपछि त्यसको विवरण सार्वजनिक गर्न ढिलाइ हुँदा कर्मचारी वृत्तमा अनावश्यक आशङ्का सिर्जना हुने र सुधारप्रतिको विश्वास कमजोर बन्न सक्ने विषयमा नेतृत्व संवेदनशील हुनुपर्छ ।

विगतको तुलनामा आर्थिक लेनदेन र बिचौलियाको प्रभाव घटेको अनुभव भइरहँदा निर्णयको पारदर्शितामा समेत सुधार गर्न सकिए त्यसले वर्तमान नेतृत्वप्रतिको विश्वास थप बढाउन सक्छ । सरुवा निर्णय भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने मन्त्रालयकै प्रस्तावित व्यवस्थालाई कार्यान्वयनमा ल्याउनु यसका लागि उपयोगी हुनेछ ।

अबको आवश्यकता : पटके सुधार होइन, प्रणालीगत परिवर्तन
वर्तमान सरकार गठन भएपछि विगतमा देखिएका कतिपय विकृत अभ्यास मन्त्री वा उनको सचिवालयबाट उही स्वरूपमा नदेखिएको भुक्तभोगीहरूको भनाइ छ । त्यस्ता अभ्यास अहिले पनि भएका छन् भने तथ्य र प्रमाणसहित सार्वजनिक हुनुपर्छ, आवश्यक अनुसन्धान र कारबाही हुनुपर्छ ।

विगतको बिचौलिया राज र अनुचित आर्थिक चलखेल नियन्त्रण गर्ने दिशामा भएका प्रयासलाई अब कर्मचारी प्रशासनको वैज्ञानिक व्यवस्थापन र संस्थागत विकाससँग जोड्न आवश्यक छ ।

आर्थिक चलखेलरहित सरुवाबाट समानतामा आधारित सरुवातर्फ, समानतामा आधारित सरुवाबाट वैज्ञानिक तथा न्यायपूर्ण सरुवातर्फ र त्यहाँबाट प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्नेतर्फ सुधार अघि बढ्नुपर्छ ।

कर्मचारी व्यवस्थापनमा राज्यको लगानी र उपलब्धि
महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनमा अतिरिक्त समूहमा राखिएका कर्मचारीको व्यवस्थापन र उनीहरूमाथि भएको सरकारी खर्चको विषयसमेत औँल्याइएको थियो ।

यसअघि सार्वजनिक विवरणअनुसार अतिरिक्त समूहमा राखिएका २७७ कर्मचारीको तलबभत्तामा एक वर्षमा ६ करोड ६१ लाख ५३ हजार रुपैयाँ खर्च भएको थियो । ती कर्मचारीलाई न्यूनतम तीन महिनादेखि अधिकतम १२ महिनासम्म जिम्मेवारीविहीन अवस्थामा राखिएको उल्लेख छ ।

एकातिर कर्मचारीलाई जिम्मेवारी नदिई अतिरिक्त समूहमा राखेर राज्यकोषबाट तलबभत्ता उपलब्ध गराउने र अर्कोतिर सेवाग्राहीको चाप हुने कार्यालयमा कर्मचारीको अभाव रहने अवस्थाको अन्त्य गर्नुपर्छ ।

कुन कर्मचारी कुन जिम्मेवारीमा छ ? उसको अनुभव र विज्ञता के हो ? राज्यले उसको क्षमताको कति उपयोग गरिरहेको छ ? उसलाई उपलब्ध गराइएको जिम्मेवारीबाट नागरिकले के प्राप्त गरिरहेका छन् ? कर्मचारी व्यवस्थापनको मूल्यांकन यिनै प्रश्नबाट हुनुपर्छ ।

असल र योग्य व्यक्ति चिन्न सक्नुपर्छ । राम्रो काम गर्ने, अनुभव र विज्ञता भएका तथा इमानदार व्यक्तिको पहिचान गरी उनीहरूको क्षमता राज्य सञ्चालनमा उपयोग गर्नुपर्छ ।

कर्मचारीको व्यक्तिगत रोजाइ वा नेतृत्वको इच्छाभन्दा राज्यको आवश्यकता, जनशक्तिको क्षमता र नागरिकको सेवा प्रवाहलाई केन्द्रमा राखेर कर्मचारी व्यवस्थापन गर्न सके राज्यले कर्मचारीमाथि गरेको लगानीबाट उचित प्रतिफल प्राप्त गर्न सक्नेछ ।

सरुवामा स्पष्ट मापदण्ड र सार्वजनिक जवाफदेहिता
कर्मचारी सरुवाको निर्णय कुन आधारमा भयो भन्ने विषय सम्बन्धित कर्मचारी र आम नागरिकले बुझ्न सक्ने गरी पारदर्शी बनाउनुपर्छ ।

कुनै कर्मचारीलाई तोकिएको अवधि नपुग्दै सरुवा गर्नुपर्ने अवस्था आएमा त्यसको कारण अभिलेखमा राख्ने र कानुनसम्मत रूपमा सार्वजनिक गर्ने व्यवस्था हुनुपर्छ । सरुवा सूची सार्वजनिक गर्नु मात्रै पर्याप्त हुँदैन, निर्णयको आधारसमेत स्पष्ट हुनुपर्छ ।

प्रमुख प्रशासकीय अधिकृतको औसत कार्यकाल, निमित्तको सङ्ख्या, रिक्त दरबन्दी, अतिरिक्त समूहमा रहेका कर्मचारीको विवरण, समयावधि नपुग्दै गरिएका सरुवा तथा सरुवासम्बन्धी गुनासोको नियमित विवरण सार्वजनिक गर्ने अभ्यास बसाल्नुपर्छ ।

कर्मचारी सूचना प्रणालीलाई अद्यावधिक गर्दै कर्मचारीको सेवाअवधि, विगतको जिम्मेवारी, भौगोलिक अनुभव, कार्यसम्पादन, विज्ञता तथा विशेष मानवीय परिस्थितिलाई सरुवाको वस्तुगत आधार बनाइनुपर्छ ।

त्यसैगरी सरुवामा असन्तुष्ट कर्मचारीले मन्त्री, सचिव वा राजनीतिक नेतृत्वको पहुँच खोज्नुपर्ने अवस्था अन्त्य गर्न निश्चित समयभित्र गुनासो पेस गर्न र त्यसको निष्पक्ष पुनरावलोकन गराउन सक्ने प्रशासनिक संयन्त्र विकास गर्नुपर्छ ।

यस्तो व्यवस्था स्थापित गर्न सकिएमा अहिले कर्मचारीले उठाइरहेका जायज गुनासो सम्बोधन हुनुका साथै भविष्यमा सरुवाका नाममा पुन: बिचौलियाको प्रभाव बढ्न सक्ने सम्भावनासमेत न्यूनीकरण हुनेछ ।

मन्त्रीको इच्छाशक्तिदेखि संस्थागत प्रणालीसम्म
कुनै पनि मन्त्रीको व्यक्तिगत इमानदारी, इच्छाशक्ति र सक्रियताले सुधारको सुरुवात गर्न सक्छ । तर त्यस्तो सुधारलाई संस्थागत गर्न सकिएन भने नेतृत्व परिवर्तनसँगै उपलब्धि पनि हराउन सक्छ ।

कर्मचारी सरुवा, पदस्थापन, राजनीतिक नियुक्ति, वैदेशिक मनोनयन, आयोजना छनोट, बजेट विनियोजन तथा सार्वजनिक खरिदजस्ता विषयमा मन्त्री वा सचिवको व्यक्तिगत विवेकाधिकारलाई स्पष्ट कानुनी तथा प्रशासनिक मापदण्डभित्र व्यवस्थित गर्नुपर्छ ।

त्यसैगरी मन्त्रालय र मातहतका निकायका महत्त्वपूर्ण निर्णय, त्यसका आधार र कार्यान्वयनको अवस्थालाई नियमित रूपमा सार्वजनिक गर्ने अभ्यास बसाल्नुपर्छ ।

निर्णय प्रक्रियामा राजनीतिक नेतृत्वको निर्देशन, प्रशासनिक नेतृत्वको सिफारिस र कानुनी आधार स्पष्ट हुने गरी अभिलेख राख्न सकिएमा भविष्यमा कुनै निर्णयमाथि प्रश्न उठ्दा जिम्मेवारी निर्धारण गर्न सहज हुन्छ ।

मन्त्रीले प्रत्येक कर्मचारीको सरुवा र प्रत्येक प्रशासनिक निर्णयमा समय खर्चिनुपर्ने अवस्था घटाएर नीतिगत सुधार, संस्थागत विकास र दीर्घकालीन प्रशासनिक कार्ययोजनामा बढी समय दिन सक्ने वातावरण पनि निर्माण गर्नुपर्छ ।

असल नेतृत्वले आफूसँग भएको अधिकारको सदुपयोग मात्रै गर्ने होइन, भविष्यमा त्यही अधिकारको दुरुपयोग हुन नसक्ने प्रणाली निर्माण गर्ने हो ।

सानो घेराबाट बाहिर निस्कने र आलोचना सुन्ने क्षमता
वर्तमान सरकार र मन्त्रीहरूसँग आफ्नो कार्यशैली तथा व्यवहारलाई थप परिष्कृत गर्ने अवसर छ । त्यसका लागि सानो घेराबाट बाहिर आउने, आलोचना सुन्न सक्ने क्षमता विकास गर्ने, प्रश्न गर्नेहरूलाई प्रोत्साहन गर्ने र जायज प्रश्नप्रति सदैव जवाफदेही हुने संस्कार बसाल्नुपर्छ ।

नेतृत्वलाई सबै कुरा थाहा हुन्छ भन्ने मानसिकताले सुधारको सम्भावनालाई सीमित बनाउँछ । नेतृत्वको सफलता आफैँले सबै कुरा जान्नुमा होइन, जान्ने व्यक्तिको पहिचान गर्नु र उनीहरूको ज्ञान तथा अनुभवलाई सही रूपमा उपयोग गर्न सक्नुमा निहित हुन्छ ।

कुनै पनि नीतिगत विषयमा निर्णय लिनुपूर्व अनुभव र विषयगत विज्ञता भएका जोसुकै व्यक्तिसँग आवश्यक समन्वय, परामर्श तथा साझेदारी गर्नुपर्छ । निर्णयको बन्दी बन्ने होइन, सही समयमा सही निर्णय लिन सक्ने नेतृत्व विकास गर्नुपर्छ ।

नयाँ नेतृत्वलाई विगतका विकृत अभ्यासबारे जानकारी गराउने अनुभवी कर्मचारी सबै सुधारविरोधी हुँदैनन् । त्यसैगरी नेतृत्वको हरेक निर्णयमा समर्थन जनाउने व्यक्ति मात्रै सुधारका पक्षधर हुन् भन्ने पनि होइन । व्यक्तिको निकटताभन्दा उसले प्रस्तुत गरेको विषय, तथ्य र तर्कलाई महत्त्व दिनुपर्छ ।

कर्मचारीका असन्तुष्टि र गुनासोलाई सुधारको विरोधका रूपमा मात्रै बुझ्नु हुँदैन । ती गुनासोमध्ये जायज विषय पहिचान गरेर सम्बोधन गर्न सकिएमा सुधारप्रतिको कर्मचारीको अपनत्व र विश्वास अझ बढ्न सक्छ ।

नागरिक र सञ्चार क्षेत्रसँग नियमित संवाद
आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषयमा सञ्चारकर्मी तथा सरोकारवालामार्फत सम्पादित कामबारे नागरिकलाई समयमै सुसूचित गराउन र रचनात्मक पृष्ठपोषण प्राप्त गर्न मन्त्रीहरूले थप सक्रियता देखाउन आवश्यक छ ।

सरकारले गरेका राम्रा काम नागरिकसम्म पुर्‍याउनु जति आवश्यक छ, ती कामको प्रभावकारिताबारे नागरिकबाट प्रतिक्रिया लिनु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।

मन्त्रालयले निश्चित अवधिमा गरेका काम, प्राप्त उपलब्धि, कार्यान्वयनमा देखिएका समस्या र आगामी प्राथमिकताबारे नियमित विवरण सार्वजनिक गर्न सक्छ । पत्रकार, कर्मचारी, स्थानीय तहका जनप्रतिनिधि, विषयविज्ञ तथा अन्य सरोकारवालासँग समय–समयमा विषयगत छलफल गर्ने अभ्यासले पनि सुधारलाई गति दिन सक्छ ।

पत्रकारका प्रश्नलाई असहयोग, आलोचनालाई विरोध र कमजोरी उजागर गर्ने कार्यलाई सरकारविरुद्धको गतिविधिका रूपमा बुझ्ने प्रवृत्तिबाट नेतृत्व मुक्त हुनुपर्छ ।

असल मनसायले सत्कर्म गर्दागर्दै पनि त्रुटि हुन सक्छ । त्यस्तो अवस्थामा आत्मालोचित हुँदै कमजोरी सच्याउनु जिम्मेवार नेतृत्वको विशेषता हो । त्रुटिको ढाकछोप वा गलत कार्यको प्रतिरक्षाले नेतृत्वलाई बलियो होइन, कमजोर बनाउँछ ।

निष्कर्ष : सुधारको सुरुवातदेखि सुशासनको संस्थागत विकाससम्म
विगतका सरकारका पालामा कर्मचारी सरुवा, पदस्थापन, राजनीतिक नियुक्ति, ट्रेड युनियनको भूमिका र सार्वजनिक स्रोत परिचालनमा उठेका प्रश्नहरू भुक्तभोगीका अनुभवमा मात्रै सीमित थिएनन् । तीमध्ये कतिपय विषय राष्ट्रिय सञ्चारमाध्यमका समाचार तथा राज्यका आधिकारिक प्रतिवेदनमा समेत अभिलेखबद्ध छन् ।

वर्तमान सरकार गठन भएपछि कर्मचारी सरुवामा आर्थिक लेनदेन र बिचौलियाको प्रभाव घटेको कर्मचारीको अनुभव, योग्यताक्रममा आधारित पदस्थापनको प्रयास, नियमित प्रमुख प्रशासकीय अधिकृत खटाउन देखाइएको सक्रियता, दलीय हस्तक्षेप नियन्त्रणका लागि चालिएका कानुनी कदम र प्रविधिमा आधारित सरुवा प्रणाली निर्माणको पहलले प्रशासनिक सुधारको सम्भावना देखाएका छन् ।

यी प्रयासलाई उचित महत्त्व दिनुपर्छ । वर्षौँदेखि गलत अभ्यास भोग्दै आएका कर्मचारीले परिवर्तनको अनुभूति गर्नु आफैँमा अर्थपूर्ण छ । त्यसमाथि विवादित निर्णय पुनरावलोकन गर्ने र आवश्यकताअनुसार मापदण्ड परिमार्जन गर्ने अभ्यासले पनि सुधारको सम्भावना बढाएको छ ।

तर आर्थिक चलखेल र बिचौलियाको प्रभाव नियन्त्रण गर्नु मात्रै कर्मचारी प्रशासनको सम्पूर्ण सुधार होइन । सरुवामा समानता, निष्पक्षता, वैज्ञानिकता, पूर्वानुमानयोग्यता, मानवीय संवेदनशीलता र कर्मचारीको मनोबललाई समेत उत्तिकै प्राथमिकता दिनुपर्छ ।

सार्वजनिक प्रशासन सुधारको सबैभन्दा महत्त्वपूर्ण प्रस्थानबिन्दु कर्मचारीको वैज्ञानिक र न्यायपूर्ण खटनपटन हो । सही व्यक्तिलाई सही समयमा सही जिम्मेवारीमा खटाउन सकिए त्यसको सकारात्मक प्रभाव समग्र राज्य सञ्चालन र नागरिकको सेवा प्रवाहमा देखिन सक्छ ।

विगतको तुलनामा कर्मचारी प्रशासनमा धेरै सुधार भएको अनुभव भइरहँदा चयनमुखी सरुवासम्बन्धी गुनासोको सम्बोधन, सेवाअवधिको समान प्रयोग, दुर्गम र सुगम क्षेत्रबीचको सन्तुलन, संघ र स्थानीय तहमा जिम्मेवारीको न्यायोचित वितरण तथा कर्मचारीको मनोबल र मानवीय संवेदनशीलताजस्ता विषयलाई समेत सुधारको अभिन्न अङ्ग बनाउन सकिएको भए प्रशासनिक सुधारले अझ ठूलो फड्को मार्न सक्थ्यो ।

अझै पनि त्यसको अवसर छ । कर्मचारीका जायज गुनासोलाई सुधारका लागि प्राप्त पृष्ठपोषणका रूपमा ग्रहण गर्दै अहिलेका उपलब्धिलाई थप परिष्कृत गर्न सकिन्छ ।

कर्मचारी प्रशासनको सुधारबाट सुरु भएको परिवर्तनलाई राजनीतिक नियुक्ति, आयोजना छनोट, सार्वजनिक खरिद, बजेट विनियोजन, सरकारी स्रोतसाधनको परिचालन र समग्र निर्णय प्रक्रियासम्म विस्तार गर्न सकिएमा मन्त्रालयको कार्यशैलीमा थप गुणात्मक परिवर्तन आउन सक्छ ।

मन्त्रालयको वास्तविक सफलता कति कर्मचारी सरुवा गरिए, कति निमित्त हटाइए वा कति नयाँ मापदण्ड बनाइए भन्नेमा मात्रै सीमित रहनु हुँदैन । ती निर्णयबाट स्थानीय तहमा सेवा प्रवाह कति सहज भयो, प्रशासनिक स्थायित्व कति बढ्यो, कर्मचारीको व्यावसायिक क्षमता कति उपयोग भयो र राज्यको स्रोत कति प्रभावकारी रूपमा परिचालन भयो भन्ने विषयमा त्यसको मूल्याङ्कन हुनुपर्छ ।

आजको प्रश्न विगतका बिचौलिया हटे कि हटेनन् भन्ने मात्रै होइन, भोलि नयाँ बिचौलिया जन्मन नसक्ने प्रणाली बन्यो कि बनेन भन्ने पनि हो ।

आजका मन्त्रीले गलत काम नगर्नु मात्रै पर्याप्त होइन, भोलिका मन्त्रीले चाहेर पनि गलत काम गर्न नसक्ने संस्थागत व्यवस्था निर्माण गर्नु अझ महत्त्वपूर्ण हो ।

विगतका विकृति नियन्त्रण गर्न सुरु भएको प्रयासलाई दिगो प्रणालीमा रूपान्तरण गर्न सकिएमा त्यसको लाभ वर्तमान सरकारको कार्यकालमा मात्रै सीमित रहने छैन । भविष्यका सरकार, प्रशासनिक नेतृत्व र आम नागरिकले समेत त्यसको लाभ प्राप्त गर्नेछन् ।

कर्मचारीले सरुवाका लागि मन्त्रीको सचिवालय धाउन नपर्ने, पहुँच खोज्न नपर्ने, आफ्नो जिम्मेवारी र आगामी कार्यस्थलबारे पूर्वानुमान गर्न सक्ने तथा निष्पक्ष व्यवहार पाउने विश्वास गर्न सक्ने अवस्था निर्माण गर्नु कर्मचारी प्रशासन सुधारको वास्तविक उपलब्धि हुनेछ ।

सरकार र मन्त्रीको परिवर्तनसँगै कार्यशैलीमा परिवर्तन आउनु सकारात्मक हो । तर त्यस्तो परिवर्तनलाई प्रणालीगत सुधारमा रूपान्तरण गर्न सक्नु अझ ठूलो उपलब्धि हुनेछ । अहिले देखिएको सुधारको सम्भावनालाई त्यही दिशामा अघि बढाउन सकियो भने मुलुकको सार्वजनिक प्रशासनले लामो समयदेखि खोजिरहेको परिवर्तनको आधार निर्माण हुन सक्छ ।

आगामी अङ्कमा अर्को मन्त्रालयको विगत र वर्तमानको कार्यशैली, सुधारका प्रयास र संस्थागत विकासका सम्भावनाको विश्लेषण प्रस्तुत गरिनेछ ।

0 Comments