९ मंसिर २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनीमा साइकल पर्यटनबाट गाउँ र अर्थतन्त्र जोड्ने प्रयास

अ अ+ अ-

रूपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा आउने पर्यटकलाई आसपासका गाउँबस्ती, ऐतिहासिक सम्पदा, स्थानीय संस्कृति र जनजीवनसँग जोड्ने उद्देश्यले साइकल पर्यटन सुरु गरिएको छ । यसबाट लुम्बिनीको पर्यटन विविधीकरण हुनाका साथै ग्रामीण समुदायको आयआर्जन र रोजगारीका अवसर विस्तार हुने अपेक्षा गरिएको छ ।

लुम्बिनीको पर्यटनलाई स्थानीय समुदायको आर्थिक समृद्धिसँग जोड्ने उद्देश्यले दिगो पर्यटन परियोजनाअन्तर्गत मङ्गलबारदेखि लुम्बिनी साइकल यात्रा सञ्चालनमा ल्याइएको हो । लुम्बिनी होटल संघ नेपालको पहलमा पर्यटन क्षेत्रका सरोकारवालासँगको सहकार्यमा सुरु गरिएको अभियानअन्तर्गत आठ, १६ र २४ किलोमिटरका तीन वटा साइकल मार्ग तयार गरिएका छन् ।

साइकल मार्गमार्फत पर्यटकलाई मायादेवी मन्दिर र पवित्र उद्यानको भ्रमणमा मात्र सीमित नराखी आसपासका ग्रामीण बस्ती, पुरातात्त्विक सम्पदा, प्राकृतिक स्थल र स्थानीय जीवनशैलीको अनुभव गराउने लक्ष्य राखिएको छ ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ व्यवस्थापक खड्गविक्रम शाहले पर्यटन विकास गर्दा पर्यटकको सङ्ख्या बढाउने विषयमा मात्र केन्द्रित नभई वातावरण संरक्षण, स्थानीय जीविकोपार्जन र समुदायको प्रत्यक्ष लाभलाई प्राथमिकता दिनुपर्ने बताए। लुम्बिनी र बृहत्तर लुम्बिनी क्षेत्रलाई साइकलका माध्यमबाट जोडेर ग्रामीण समुदाय, सम्पदा र स्थानीय जनजीवनलाई अन्तर्राष्ट्रिय पर्यटकसमक्ष पुर्‍याउने प्रयास महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।

साइकल पर्यटनले पर्यटकको बसाइ अवधि लम्ब्याउन, स्थानीय उत्पादनको बजार विस्तार गर्न र ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने उनले बताए । अभियानलाई दीर्घकालीन बनाउन लुम्बिनी विकास कोष, स्थानीय सरकार, होटल व्यवसायी र पर्यटन क्षेत्रका अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष आनीछोइङ डोल्माले लुम्बिनीको तीर्थाटनलाई साइकल यात्रा र शान्त वातावरणसँग जोड्नुपर्ने बताइन् । बुद्धको जन्मस्थलमा आउने तीर्थयात्री तथा पर्यटकले यहाँको शान्ति, प्रकृति र आध्यात्मिक वातावरणको अनुभूति गर्न सक्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिइन् । 

गाडीको अत्यधिक प्रयोग, होहल्ला र भीडभाडले लुम्बिनीको मौलिक शान्त वातावरण प्रभावित हुन सक्ने उल्लेख गर्दै उनले साइकलको प्रयोगले वातावरण संरक्षणमा योगदान पुर्‍याउनाका साथै स्वास्थ्यलाई पनि लाभ हुने बताइन् । 

लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजनले धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण, सरसफाइ र पर्यटन प्रवर्द्धनमा साइकल यात्रा अभियानले योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन् । लुम्बिनीलाई धार्मिक गन्तव्यका साथै स्वच्छ र हराभरा पर्यटकीय नगरका रूपमा विकास गर्न स्थानीय सरकार, लुम्बिनी विकास कोष र पर्यटन क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनले बताइन् । 

लुम्बिनी सांस्कृतिक नगरपालिका–१० बाट सुरु हुने तीन वटा साइकल मार्गले पर्यटकलाई फरकफरक अनुभव प्रदान गर्नेछन् । आठ किलोमिटर लामो ‘मैत्री मार्ग’ पूरा गर्न दुईदेखि तीन घण्टा लाग्नेछ । यस मार्गमा मन्दिर, पोखरी, खेतीयोग्य जमिन, ग्रामीण बस्ती र स्थानीय हस्तकला केन्द्रको अवलोकन गर्न सकिनेछ ।

त्यस्तै, १६ किलोमिटर लामो ‘प्रज्ञा मार्ग’ पूरा गर्न चारदेखि पाँच घण्टा लाग्नेछ । यस मार्गमा खेतबारी, नदी किनारका गाउँ, चराचुरुङ्गी, वन्यजन्तु, कुम्हार बस्ती, स्थानीय बजार र झोलुङ्गे पुलको अवलोकन गर्न सकिनेछ । २४ किलोमिटर लामो ‘करुणा मार्ग’ पूरा गर्न सातदेखि आठ घण्टा लाग्नेछ । यसले पर्यटकलाई नदीपारिका बस्ती, पुराना गाउँ, आश्रम, खेतीपाती र ऐतिहासिक स्थलसम्म पुर्‍याउनेछ ।

साइकल मार्ग सञ्चालनले पर्यटकलाई लुम्बिनीको मूल क्षेत्रबाहिरको ग्रामीण जीवन र संस्कृतिसँग प्रत्यक्ष जोड्ने अपेक्षा गरिएको छ । पर्यटक गाउँसम्म पुग्दा स्थानीय कृषि उत्पादन, हस्तकला, परम्परागत परिकार र घरेलु उत्पादनको बजार विस्तारमा सहयोग पुग्नेछ । गाउँमा घरबास, चिया, कफी तथा स्थानीय परिकारको व्यवसाय बढ्न सक्नेछ । यसबाट स्थानीय युवाका लागि रोजगारी र स्वरोजगारीका अवसर सिर्जना हुनाका साथै पर्यटनबाट प्राप्त आम्दानी गाउँसम्म पुग्ने अपेक्षा गरिएको छ ।

लुम्बिनीलाई केन्द्र बनाएर कपिलवस्तुको तिलौराकोट, देवदह र रामग्रामलगायत बुद्धकालीन तथा प्राचीन सभ्यतासँग सम्बन्धित स्थलको पर्यटन प्रवर्द्धन गर्न सके बृहत्तर लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रिय बौद्ध पर्यटनको सञ्जालका रूपमा विकास गर्न सकिने सम्भावना छ ।

लुम्बिनी सन् १९९७ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को विश्व सम्पदा सूचीमा सूचीकृत भएको हो । सम्राट् अशोकले इसापूर्व २४९ मा स्थापना गरेको अशोक स्तम्भको अभिलेखले लुम्बिनीलाई गौतम बुद्धको जन्मस्थलका रूपमा प्रमाणित गरेको छ । मायादेवी मन्दिर, प्राचीन विहार, स्तूप र पुरातात्त्विक अवशेषले यसको ऐतिहासिक तथा धार्मिक महत्त्व झल्काउँछन् ।

पर्यटकको बसाइ अवधि लम्ब्याउने, प्रतिपर्यटक खर्च बढाउने र स्थानीय उत्पादन तथा सेवाको उपभोग विस्तार गर्ने पर्यटन क्षेत्रका प्रमुख आधार हुन् । साइकल पर्यटनले यी अवसर सिर्जना गर्दै लुम्बिनीको धार्मिक पहिचानलाई ग्रामीण पर्यटनसँग जोड्न र त्यसबाट प्राप्त हुने आर्थिक लाभ स्थानीय समुदायसम्म पुर्‍याउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

0 Comments