चीन । चीनले तीन अन्तरिक्ष यात्रीसहित प्रक्षेपण गरेको ‘शेन्झाउ-२४’ मानवसहितको अन्तरिक्षयानको उडान पूर्ण रूपमा सफल भएको जनाएको छ ।
चीनको मानवसहितको अन्तरिक्ष कार्यक्रम सञ्चालन गर्ने निकाय (सीएमएसए) ले बुधवार अन्तरिक्षयानको प्रक्षेपण पूर्ण रूपमा सफल भएको घोषणा गरेको हो । स्थानीय समयअनुसार बिहान ८ बजेर १८ मिनेटमा उत्तरपश्चिम चीनस्थित जिउछ्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट लङ मार्च-२एफ रकेटमार्फत अन्तरिक्षयान प्रक्षेपण गरिएको थियो ।
अन्तरिक्षयानमा चिनियाँ अन्तरिक्ष यात्री ताङ होङ्बो, वु यी र पाकिस्तानी अन्तरिक्ष यात्री मुहम्मद जिसान अली सवार छन् । उनीहरू चीनको कक्षीय अन्तरिक्ष केन्द्र ‘तियाङगोङ’तर्फ प्रस्थान गरेका हुन् । चीनको मानवसहितको अन्तरिक्ष कार्यक्रम निकायका अनुसार प्रक्षेपण भएको करिव १० मिनेटपछि अन्तरिक्षयान रकेटबाट अलग भएर निर्धारित कक्षमा प्रवेश गरेको थियो ।
अन्तरिक्षयान निर्धारित कक्षमा प्रवेश गरेसँगै तीनै जना अन्तरिक्ष यात्रीको स्वास्थ्य अवस्था सामान्य रहेको पनि निकायले जनाएको छ । जिउछ्वान स्याटेलाइट प्रक्षेपण केन्द्रका अधिकारी ली बेन्कीले अन्तरिक्षयानको प्रक्षेपण पूर्ण रूपमा सफल भएको घोषणा गरेका थिए । यस मिसनसँगै चीनको तियाङगोङ अन्तरिक्ष केन्द्रमा पहिलोपटक विदेशी अन्तरिक्ष यात्रीसमेत सहभागी भएको संयुक्त अन्तरिक्ष उडान अघि बढेको छ ।






