काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले आफूबाट जारी हुने सबै प्रकारका प्रमाणपत्रका लागि स्थायी लेखा नम्बर (प्यान) र पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र अनिवार्य गरेको छ । नयाँ व्यवस्था आगामी मङ्सिर १५ गतेदेखि लागू हुनेछ ।
आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यको बुँदा नम्बर ३९१ मा समावेश व्यवस्था कार्यान्वयन गर्न विभिन्न मितिमा गरेको पत्राचारका आधारमा काउन्सिलले यस्तो निर्णय गरेको हो ।
काउन्सिलको २०८३ असोज १ गते बसेको पूर्ण बैठकको निर्णयअनुसार विभिन्न प्रकारका दर्ता प्रमाणपत्र, भेरिफिकेसन तथा गुड स्ट्यान्डिङ प्रमाणपत्रका लागि आवेदन दिँदा थप कागजात पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।
गुड स्ट्यान्डिङ प्रमाणपत्र लिन चाहने चिकित्सकले आफू हाल कार्यरत संस्थाबाट जारी गरिएको रोजगारी खुल्ने पत्रसमेत बुझाउनुपर्नेछ । विदेशमा कार्यरत चिकित्सकले भने सम्बन्धित देशको मेडिकल काउन्सिल वा नियमनकारी निकायबाट जारी भएको गुड स्ट्यान्डिङ प्रमाणपत्र पेस गर्नुपर्नेछ ।
सम्बन्धित अवधिमा कुनै रोजगारीमा संलग्न नरहेका चिकित्सकले सोही ब्यहोरा स्पष्ट खुलाएर निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।
काउन्सिलका अनुसार निवेदनमा गलत विवरण उल्लेख गरेको, झुटा कागजात बुझाएको वा रोजगारीमा संलग्न नरहेको भनी दिएको विवरण विपरीत पछि कुनै निकाय वा स्रोतबाट प्रमाण प्राप्त भएमा प्रचलित कानुन तथा सम्बन्धित नियमावलीबमोजिम कारबाही हुनेछ । त्यस्तो अवस्थामा भविष्यमा गुड स्ट्यान्डिङ प्रमाणपत्र जारी गर्नसमेत रोक लगाउन सकिनेछ ।







