काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृति गराएर कामदार विदेश पठाउने इजाजतप्राप्त संस्थामाथि हदैसम्मको कारबाही गर्ने चेतावनी दिएको छ ।
युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतको विभागले शुक्रबार सूचना जारी गर्दै वैदेशिक रोजगार ऐन, २०६४ विपरीत हुने गतिविधिमा संलग्न म्यानपावर कम्पनीलाई कानुनी कारबाहीको दायरामा ल्याइने जनाएको हो ।
वैदेशिक रोजगार ऐन, २०६४ को दफा २१ को उपदफा (३) मा इजाजतप्राप्त संस्थाले व्यक्तिगत श्रम स्वीकृतिमार्फत कामदारलाई वैदेशिक रोजगारीमा पठाउन नपाउने व्यवस्था छ ।
विभागले युरोपलगायतका मुलुकमा म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका नागरिकलाई सम्बन्धित कम्पनीले ती मुलुकमा कामदार पठाउन पूर्वस्वीकृति लिए/नलिएको यकिन गर्नसमेत आग्रह गरेको छ ।
व्यक्तिगत श्रम स्वीकृति गराएर विदेश पठाउने भन्दै कुनै म्यानपावर कम्पनी, संस्था, कन्सल्टेन्सी वा व्यक्तिले आर्थिक कारोबार गर्न खोजे तत्काल विभागलाई जानकारी गराउन सूचनामार्फत अनुरोध गरिएको छ ।
त्यस्तो गतिविधिबारे जानकारी दिने सूचनादाताको विवरण पूर्ण रूपमा गोप्य राखिने विभागले स्पष्ट पारेको छ ।
यससम्बन्धी सूचना विभागको फोन नम्बर ०१-५९०७६५९, मोबाइल नम्बर ९७४३२३३४८४ वा इमेल मार्फत दिन सकिने विभागले जनाएको छ ।








